spot_img

स्थानीय सरकार बलियो भएमात्रै समृद्धि हासिल हुन्छ : अध्यक्ष मल्ल

पर्वत, माघ ४–जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले जनताको आर्थिक समृद्धिलाई माथि उठाउन र लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न स्थानीय सरकारलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्ने वताएका छन् । अध्यक्ष मल्लले आज पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाको नवौ बार्षिक साधारणसभालाई सम्वोधन गर्दै उक्त कुरा वताएका हुन ।

अध्यक्ष मल्लले भाषण गरेर मात्रै मुलुक र जनताले आर्थिक समृद्धि हासिल गर्न नसक्ने वताउँदै समृद्ध समाज निर्माणका लागि स्थानीय सरकारलाई शक्तिशाली बनाउनुपर्ने धारणा राखे । ‘जनताको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो, तर स्थानीय सरकारकै अधिकारमाथि केन्द्र र प्रदेश सरकारले हस्तक्षेप गर्दै आएको छ’( अध्यक्ष मल्लले भने । उनले संघीयताको मर्म र भावना अनुसार जनतालाई अवसर र अधिकारको अनुभूति दिन नसकिएको भन्दै गाउँमा आउनुपर्ने सिंहदरवारको अधिकार सिँहदरबारभित्रै सिमित दावी गरे । अध्यक्ष मल्लले जलजलाको बाटो, बिजुली, खानेपानी, सिंचाई, कृषि, शिक्षा र स्वास्थ्य सँगसँगै यहाँको व्यवसायिक र पर्यटन विकासका लागि समेत गाउँपालिकाले दीर्घकालीन गुरुयोजनाका साथ कार्यक्रम अघि बढाएको जानकारी दिँदै गाउँपालिकाले अघि सारेको विकास अभियानमा कुनै आग्रह पूर्वाग्रह नराखी सहयोग गर्न जलजलाबासीलाई अपिल समेत गरे ।

अध्यक्ष मल्लले अघिल्लो सरकारले शुरू गरेका वेनी बजार संरक्षण लगायत जलजलाका विभिन्न विकास निर्माणका आयोजनाहरुले यो सरकारको पालामा निरन्तरता पाउन नसकेकोमा दुख व्यक्त गर्दै विगतका क्रमागत योजनाहरूमा विना पूर्वाग्रह वजेट विनियोजन गर्न केन्द्र र प्रदेश सरकारसँग माग गरे । उनले जनतालाई करको भारबाट राहत दिन स्थानीय श्रोतसाधनको उपयोग गर्ने अधिकार स्थानीय सरकारलाई नै हुनुपर्ने धारणा राखे । अध्यक्ष मल्लले पर्वत वेनी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई गाउँपालिकाको जमानीमा केन्द्रबाट दुई करोड ६२ लाख रुपैयाँ सस्तो ब्याजदरमा उपलब्ध गराएको जानकारी दिँदै योजना शुरू हुने चरणमा पुगेकोले अब उपभोक्तालाई न्युनतम महशुल लिएर खानेपानी उपलब्ध गराउन समितिलाई आग्रह गरे ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले पर्वत उद्योग बाणिज्य संघ जलजला उपशाखाले यस क्षेत्रका धेरै उद्योगी व्यवसायीको प्रतिनिधित्व गर्ने भएकोले व्यवसायिक अधिकार र व्यवसायीहरुको संरक्षण हुनेगरि काम गर्न सुझाव दिए । उनले सरकारको तिनखम्वे अर्थनीतिलाई आधार मानेर काम गर्दै आएकोले स्थानीय सरकारले लिने व्यवसायिक करमा एकरुपता हुनुपर्ने माग राखे । शर्माले मापदण्ड विपरित संचालन गरिने कुनै पनि मेला महोत्सवमा संस्थागत सहभागिता नजनाउन जलजला उपशाखालाई आग्रह समेत गरे ।
कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, जलजला उपशाखाका निवर्तमान अध्यक्ष एवं जलजला गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भीष्म मल्ल, जलजला उपशाखाका संस्थापक अध्यक्ष नरबहादुर कार्की, पर्वत उद्योग बाणिज्य संघका सदस्य लेखनाथ शर्मा, पर्वत वेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष लोकनाथ रेग्मी, न्यू होराइजन आवासीय माविका प्रिन्सिपल अर्जुन पौडेल र कलाकार आरसी पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
जलजला उपशाखाका अध्यक्ष डिलबहादुर वरूवालको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन शाखाका महासचिव शेषराज रेग्मीले गरेका थिए । शाखाको प्रगति प्रतिवेदनसहित स्वागत मन्तव्य शाखा अध्यक्ष डिलबहादुर वरूवालले गरेका थिए । २०६८ सालमा स्थापना भएको उक्त शाखाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कृष्णराज सुवेदीले प्रस्तुत गरेका थिए ।

spot_img

भर्खरै