पर्वत, पुस २३–पर्वतका ऐतिहासिक धरोहर, सामाजिक अगुवा एवम् राजनितिज्ञ स्वर्गिय अमृतप्रसाद जोशीको १२ औँ स्मृति दिवस पर्वतमा आज विविध कार्यक्रम गरी सम्पन्न भएको छ । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईसहित एसइइ परीक्षामा उत्कृष्ठ नतिजा ल्याउन सफल बिद्यार्थीलाई सम्मान गरिएको हो ।
प्रतिष्ठानले एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याएर उत्तिर्ण हुने नवजागृती मावि तिलाहारका छात्र गणेश शर्मा र सोही विद्यालयकी छात्रा अनिता शर्मालाई नगद सहित सम्मान गरेको छ । त्यस्तै नेपाल जेसिसले आयोजना गरेको राष्ट्रियस्तरको वक्तृत्वकला प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्ने पर्वतकी निरुता शर्मालाई नगद सहित सम्मान गरेको छ । प्रतिष्ठानले मृगौला रोगवाट पीडित कुश्मा नगरपालिका–४ की बिनिता परियारलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका सचिव माधव पौडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् अमृतप्रसाद जोशीका जेष्ठ सुपुत्र अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशीको राजनीतिक प्रेरणा आफ्नो राननितिक जीवनको सर्वोत्तम पुँजी भएको बताए । नेता जोशीले अमृत जोशी लामो समय पर्वत जिल्ला पञ्चायतको सभापतिजस्तो महत्वपूर्ण पदमा बसेर पनि निष्कलंक र सर्वमान्य व्यक्तिका रुपमा परिचित हुनसक्नु सबैभन्दा ठुलो त्याग भएको धारणा राखे । उनले राजनीति भन्दा सामाजिक सेवाको क्षेत्र निकै फराकिलो भएको उल्लेख गदै अमृत जोशीको समाजप्रतिको निष्ठा, त्याग र समर्पणका कारण पर्वत जिल्लाका हरेक जनताले श्रद्धा गर्नेगरेको पनि जानकारी दिए ।
अमृत जोशी स्मृति प्रतिष्ठानलाई कुनै विचारको वरिपरि मात्र सिमित नबनाएर सबैको साझा प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने सुझाव दिदै उनले प्रतिष्ठानको कोष र कार्यक्रमलाई आगामी दिनमा थप बृद्धि गदै लैजाने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टाराईले आफ्नै गृह जिल्लामा सम्मानित हुन पाउँदा खुशी लागेको बताउँदै समाज र देशप्रति आफ्नो दायित्व झन बढेको धारणा राखे । उनले समाजसेवाको उदाहरण अहिलेका पुस्ताहरुले अनुसरण गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले राजनितिक संस्कार र सामाजिक योगदानको सबैले अनुशरण गर्न जरुरी रहेको बताए । समाजसेवा, राजनीतिक निष्ठा र आदर्शका कारण अमृत जोशी स्वार्गबास भएर पनि जिल्लाबासीको मनमा जिवितै रहेको भुसालको धारणा थियो । कार्यक्रममा पैयँु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, कुश्मा नगरपालिका उपमेयर सिता काफ्ले लामिछाने, संविधानसभाका सदस्य कल्पना चापागाई, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ का उम्मेदवार राजेन्द्रप्रदसाद तिवारी, अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, पूर्व सम्मानित व्यक्तित्व तोयनाथ चालिसे, नेकपा कुश्मा नगरपालिका अध्यक्ष शंकर गिरी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदी, उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्मा लगायतले मन्तव्य राखेका थिए ।
अमृत जोशी स्मृति प्रतिष्ठानमा आजिवन सदस्य पनि थपिएका छन् । आज भएको सभामा बिरेन्द्र रिजाल, राजेन्द्रप्रसाद तिवारी, मिलन सुबेदी, डण्डपाणी रिजाल, गोबिन्द पहाडी, शंकर गिरीले आजिवन सदस्यता लिए । अमृत जोशीको जीवनीवारे प्रतिष्ठानका पूर्व सचिव एवम् सल्लाहकार कमलनाथ शर्माले प्रकाश पारेका थिए । कार्यक्रममा पृथ्बीनारायण शर्माले कविता वाचन गरेका थिए । अमृत जोशी स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सल्लाहकार ख्यामनाथ शर्माले गरेका थिए भने कार्यक्रमको संचालन सचिव माधव पौडेलले गरेका थिए ।



