पर्वत, मंसिर १७–नेपाली काँग्रेसका युवा नेता एवम् पर्वतका कोषाध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले भर्खरै सम्पन्न उपनिर्वाचनमा सभापति शेरबहादुर देउवालाई कमजोर देखाउन जिम्मेबार नेताबाटै मतदाता भड्काउने काम भएको बताएका छन् । कम्युनिष्टका दशकौ देखिका गढ भत्किएर ०७४ सालको निर्वाचनभन्दा जनमत बढ्दै गर्दापनि देउवालाई कमजोर बनाउनकै लागि आफ्नै पार्टीका उम्मेदवारको पक्षमा आउने मत भड्काउने काम भएको मल्लले बताए ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै मल्लले नेपाली काँग्रेसको प्रतिष्ठा, लोकतन्त्रको भविष्य र यो देशको राष्ट्रियतासँग जोडिएको यो निर्बाचनमा पनि पार्टी नेतृत्वलाई कमजोर सावित गर्ने कुत्सित नियत र मनशायले काँग्रेसका जिम्मेवार नेताहरुबाटै मतदातालाई भड्काउने र आफ्नै उम्मेदवारलाई हराउने जुन गैरजिम्मेवारपूर्ण क्रियाकलापहरु भए तिनकाप्रति काँग्रेसको एक सिपाहीको हैसियतले गम्भीर खेद रहेको प्रष्ट पारेका छन् । खासगरि देश र विदेशको समेत ध्यान खिचेको कास्कीको निर्बाचनमा निष्ठावान र त्यागी खेमराज पौडेलकै विरूद्धमा जनमत भड्काउन पार्टीकै शीर्ष नेता शेखर कोइरालाको हात रहेको उनको दाबी छ ।
‘सभापति शेरबहादुर देउवालाई कमजोर सावित गरि आगामी १४ औ महाधिवेशनमा त्यसको लाभांश खाने घातक रणनीतिमा लागेका कोईरालाले निर्बाचनको पूर्व सन्ध्यामा आफ्नै सभापतिले दिएको अभिव्यक्ति विरूद्धमा लाग्नु र कास्की काँग्रेसका जिम्मेवार नेताहरुसँग बसेर सभापतिको अनर्गल टिका टिप्पणी गर्नु त्यसको ज्वलन्त उदाहरण हो’ जलजला गाउँपालिकाका अध्यक्षसमेत रहेका मल्लले भने–‘वास्तवमा यस्ता नियत भएका आत्मपरक चिन्तन प्रवृत्तिका व्यक्तिहरूले काँग्रेसको सांगठनिक सुदृढीकरणमा कुनै योगदान दिन सक्दैनन् । तसर्थ घातक मनोवृत्तिलाई निरुत्साहित गर्न र जिम्मेवार काँग्रेस निर्माण गर्न आम कार्यकर्ताहरू सजक भएर लागौं । पार्टीमा त्यागी र स्वार्थी व्यक्तिहरूको वर्गिकरण गरेर दोषीलाई दण्ड र ईमान्दारलाई न्याय दिऔँ ।अब आउने निर्वाचन लाई बलियो काँग्रेस निर्माणमा लागौ ।’
उनले उपनिर्वाचन २०७६ मा सहभागी भएर आफ्नो अभिमत प्रकट गर्ने आम मतदाताहरुमा हार्दिक आभार र कृतज्ञता प्रकट गरेका छन् । पहिलेको निर्बाचनको तुलनामा यो चुनाबमा नेपाली काँग्रेसको पक्षमा स्वभाविक रुपमा मत वृद्धि भएको र त्यसको परिणामस्वरुप भक्तपुर, धरान भरतपुर लगायतका महत्वपूर्ण स्थानहरुमा काँग्रेसले आफ्नो शाखलाई उचो बनाएको उनको दाबी छ । निर्बाचनमा सबै काँग्रेसका साथीहरूलाई एकमत भएर निर्बाचनमा होमिने वातावरण निर्माण होस भनेर नै सभापति शेरबहादुर देउवाले पार्टीप्रति निष्ठा भएका, दुख पाएका र स्थानीय स्तरमा निर्विवाद व्यक्तिलाई टिकट दिएर ऐतिहासिक उदारता प्रस्तुत गरेको उनको ठम्याई रहेको छ ।


