पर्वत, भदौ २४–नेपाली कांग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण अभियान पर्वतमा शुरु भएको छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर जागरण अभियान सुरु गरिएको हो । बिपि जन्मजयन्तीको प्रतीकस्वरूप १०६ वटा बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा रोपेर अभियानको जिल्ला व्यापी रूपमा शुभारम्भ गरिएको छ । पर्वतमा कुश्मा नगरपालिका वडा नम्बर ४ र फलेबास नगरपालिका वडा नम्बर ६ देबिस्थानमा अभियान सुरु गरिएको थियो ।
देविस्थानमा भएको अभियानमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले दोस्रो चरण जागरण अभियानले पार्टीलाई मजबुत बनाउन सहयोग पुग्ने बताए । पहिलो चरण जागरण अभियान पनि उत्साहपूर्वक सम्पन्न भएको बताउँदै दोस्रो चरण कार्यक्रममा पनि जनताको उत्साहपूर्वक सहभागिता हुने विश्वास ब्यक्त गरे । गाउँमा काग्रेस आउँदैन भन्ने गुनासोलाई सम्बोधन गरेर टोलस्तरसम्म विभिन्न कार्यक्रम गरेको भन्दै उनले स्थानीयस्तरबाटै नेता कार्यकर्ताले पार्टीमा एकता कायम गर्न र गुट–उपगुट अन्त्य गर्न सुझाव दिए ।
काँग्रेस पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने र कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको उपलब्धिको सम्प्रेषण गर्ने अभियानको मुख्य उद्देश्य रहेको उनले बताएका थिए । सो जागरण अभियानका क्रममा अधिकांश जिल्लामा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा नेतालाई मिल्न र पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिएका छन् । त्यस्तै काम नगरी नेताका वरिपरि घुमेर चाकडी गर्ने परिक्रमी भन्दा परिश्रमीलाई महत्व दिन र सोहीअनुसार मूल्याङ्कन गर्नुपर्ने सुझाव जागरणमा मुख्यरुपमा उठेको थियो ।
कार्यक्रममा केन्द्रिय प्रतिनिधि एवम् गण्डकी प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले देशलाई सही बाटोमा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताए । काँग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र सामुहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउने जस्ता कार्य गर्ने बताउँदै श्रेष्ठले कम्युनिष्टका बिरुद्ध एक ढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताए । उनले यो अभियान मुलुक र जनताको हितमा समर्पित भएकाले अभियानमा सहभागी भइदिन र सहयोग गर्न आह्वान समेत गरे ।
कार्यक्रममा प्रदेश सभा ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस पर्वतका महासमिति सदस्य एवम् पैयूँ गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्रीले दुई तिहाईको सरकार जनतामुखी भन्दा कार्यकर्तामुखी भएको आरोप लगाएका थिए । प्रदेश ख का सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद मन्तव्य महासमिति सदस्य गंगाधर तिवारी, स्वागत मन्तव्य नेपाली काँग्रेस फलेवास नगरसमितिका संयोजक हिरामणि सापकोटा र कार्यक्रमको संचालन क्षेत्रीय सचिव धर्म भुषालले गरेका थिए ।
यसैगरी प्रदेश क को जागरण अभियान पर्वतको कुश्मा नगरपालिका स्थित गुप्तेश्वर बहुमुखी क्याम्पसवाट शुरु गरिएको छ । क्याम्पसको प्राङ्गढमा १०६ वटा विभिन्न प्रजातिका विरुवा रोपेर कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै केन्द्रीय प्रतिनिधी एवम् पूर्व राज्यमन्त्री चम्पादेवी खड्काले जागरण कार्यक्रमले नेपाली काँग्रेसमा नयाँ उर्जा प्रदान गर्ने बताए । उनले एकताको सन्देश गाउँमा पुग्ने र गाउँका समस्या केन्द्रमा पु¥याउने गरि कार्यक्रम देशैभरि शुरु भएको पनि बताएकी थिइन ।
उनले अहिले दुई तिहाई वहुमतको सरकारले संसदमा जनताका आवाज सुन्न नचाहेको र जनताका आवाज बोल्ने प्रतिपक्षी साँसदको मुख थुन्ने काम गरेको भन्दै आपत्ती जनाइन । नेता खड्काले पर्वतमा काँग्रेसको राम्रो एकता रहेको र जनतामा काँग्रेसप्रति ठूलो भरोसा रहेको भन्दै जनताका हरेक दुखमा साथ दिँदै पार्टिलाई सहि दिशा दिन जिल्लाका नेताहरुलाई सुझाव दिइन । नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषालले दोस्रो चरणको जागरण अभियानले गाउँ गाउँका जनताका सुखदुख बुझेर अगाडी बढ्न मद्दत पुग्ने बताए । उनले पार्टिको यो अभियान ऐतिहासिक अभियान रहेको बताउँदै यो अभियानलाई सफल बनाउन सबैलाई आग्रह गरे । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख सिता काफ्ले लामिछाने लगायतले बोलेका थिए । क्षेत्रिय सचिव कृष्णप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष रमेशबम मल्ल र संचालन सचिव कमल अधिकारीले गरेका थिए ।
पर्वतमा जागरण अभियान सुरु, यो जागरणले पार्टीलाई मजबुत पार्ने जोशीको दाबी


