spot_img

हावाहुरी पीडितको घरदैलोमा पुग्यो तरूण दल, अध्यक्ष बस्नेत र कोषाध्यक्ष गुरुङले बितरण गरे राहत

पर्वत, भदौ १२–प्राकृतिक बिपत्तीमा पीडितलाई राहत बितरण गरी नागरिकको पीडामा मलम लगाउने काम गर्दै आएको नेपाल तरुण दलले अर्को उपकारी काम गरेको छ । सरकारको भूमिकामाथि नागरिक अविश्वास बढिरहेको बेला नेपाल तरुण दलले विभिन्न प्रकोपबाट पीडित परिवारलाई राहत बाँड्न पीडितहरूको घरदैलोमै पुगेको हो । केही महिना अघि बारामा गएको हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारको घरदैलोमा पुगेर तरूण दलले नगद सहयोग गरेको हो । नेपाल तरुण दलका अध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता जीतजंग बस्नेत र नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाली काँग्रेसका युवा नेता विद्वान गुरूङले बारामा आयोजित एक कार्यक्रममा उक्त रकम मृतकका परिवारलाई हस्तान्त्रण गरेका हुन् ।

नेपाल तरुण दल बाराले संयोजन गरेको राहत हस्तान्तरण कार्यक्रममा हावाहुरीबाट ज्यान गुमाएक ३१ वटै परिवारका सदस्यहरु सहभागी थिए । दलका अध्यक्ष बस्नेत र कोषाध्यक्ष विद्धान गुरुङले ३१ परिवारका सदस्यलाई जनही १० हजार रुपैयाँ नगदसहितको राहत हस्तान्तरण गरेका हुन् । ‘एक परिवार १० हजार भन्ने कार्यक्रम बनाएर हामीले हावाहुरीबाट ज्यान गुमाएका ३१ परिवारका सदस्यहरुलाई रकम हस्तान्त्रण गरका हौ’ अध्यक्ष बस्नेतले भने । अध्यक्ष बस्नेतले हिमाल, पहाड र तराई जहाँसुकैका नागरिकहरूलाई समस्या पर्दा पनि तरूण दलले आफ्नो सशक्त उपस्थिति जनाउने प्रतिबद्धता जनाए ।

राहतका लागि तरुण दल केन्द्रीय समितिलाई तरुण दल अमेरिका शाखाले दुई लाख रुपैयाँ, तरुण दल दोलखा शाखाले एक लाख १६ हजार रुपैयाँ र अर्घाखाँचीका सुरज पोखरेलले १० हजार रुपैयाँ सहयोग गरेको नेपाल तरूण दलका केन्द्रीय कोषाध्यक्ष विद्वान गुरूङले जानकारी दिए । गुरूङले राज्यको उपस्थिति कमजोर भएको बेलामा तरूण दलको उपस्थितिले नेपाली काँग्रेसका प्रति जनताको आकर्षण बढेको दावी गरे । ‘हामी सबै पीडित परिवारलाई सान्त्वना दिएर फर्कदै छौ, यो अभियान अरू ठाउँमा पनि जारी रहन्छ’ नेपाली काँग्रेसका युवा र उदयमान नेता गुरुङले भने । नेपाल तरुण दलले प्राकृतिक विपत्तीमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ । बारा र पर्सामा हावाहुरीले वितण्डा मच्चाएपछि तरुण दलले त्यही पुगेर पुर्नस्थापना र राहत वितरणमा पनि सहयोग गरेको थियो ।

spot_img

भर्खरै