spot_img

जलजलाले ल्यायो जनमुखी बजेट, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकता

 

पर्वत, असार २३–जलजला गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४३ करोड ३७ लाख ७५ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम सार्वजानिक भएको छ । गाउँपालिकाको छैटौ गाउँसभामा उपाध्याक्ष सिमा पुनले आगामी आर्थिक बर्ष २०७६/०७७ का लागि उक्त बजेट प्रस्तुत गरेकी हुन् । स्वाथ्य, शिक्षा, रोजगार, कृषि, पर्यटन, भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्र्दै ग्रिन र स्मार्ट गाउँपालिकाको परिकल्पना गर्दै बजेट नीति, तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक बर्षमा शर्सत अनुदानमा १६ करोड आठ लाख, सामजिक सुरक्षा भत्ताका लागि ६ करोड ५० लाख, त्यसैगरि वडा कार्यालय एवं गाउँपालिकाको कार्यालय समेत गरी चालुतर्फ ६ करोड १२ लाख विन्योजन गरेको छ । त्यस्तै उद्योग तथा वाणिज्य तर्फ ५ लाख, कृषि तर्फ ५४ लाख ५० हजार, खानेपानी तथा सरसफाई तर्फ ८१ लाख ५० हजार, खेलकुद तथा मनोरञ्जन तर्फ ४९ लाख, जलाधार संरक्षण तर्फ १७ लाख ५० हजार, पशु विकास तर्फ ३८ लाख, भवन तथा सहरी विकास तर्फ १ करोड ९९ लाख ७५ हजार, फर्निचर तर्फ ७ लाख, मेशिनरी औजारमा ५ लाख, लैङगिक समानता तथा सामजिक समावेशिता तर्फ ५८ लाख, वातावरण संरक्षण तथा जलवायु परिर्वतन तर्फ ४ लाख ५० हजार, विपद व्यवस्थापनकोष तर्फ १० लाख, शिक्षा तर्फ ७१ लाख, संस्कृति प्रवद्र्धन तर्फ २१ लाख ५० हजार, सिँचाई तर्फ ५३ लाख, स्थानीय तथ्याङक संकलन तथा अभिलेख तर्फ ८ लाख, स्वास्थ्यमा १६ लाख बजेट विनिजन गरेको छ ।

बजेट प्रस्तुतपछि गाउँसभा सदस्यहरुबाट उठेका प्रश्नको जवाफ दिँदै जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकाले सबै वडाका नागरिकलाई समान ढंगले हेरेको र अवसर र अधिकारका लागि समेत न्यायपूर्ण तरिकाले बजेट वितरण गरेको दावी गर्नुभयो । अध्यक्ष मल्लले गाउँपालिकाको वृहत्तर हितका लागि सबैले सकरात्मक सुझाव दिन समेत अनुरोध गर्नुभयो । गाउँपालिकाले गरिवी निवारण गर्दै पालिकाका बासिन्दालाई स्वरोजगार गराउन ‘गाउँपालिका अध्यक्ष हातेमालो कोष’ स्थापना गरी परिचालन गर्ने भएको छ । बजेटमा जनताले स्थानीयस्तरमा सरकार आएको अनुभुत गर्नेगरी बिपन्न बर्गको उत्थानका निम्ति कोष स्थापना गरेको हो । ‘जनताले प्रत्यक्ष अनुभुत गर्नेगरी उनीहरुको आर्थिक विकास, गरीव, दलित, विपन्न, महिला, एकल महिला, फरक क्षमताकालाई स्वरोजगार बनाउन र मुलप्रवाहमा ल्याउनका लागि ‘गाँउपालिका अध्यक्ष हातेमालो कोष’ स्थापना गरी घुम्तीकोष तथा आयआर्जनका कार्यक्रममा परिचालन गरिने छ’ अध्यक्ष मल्लले भन्नुभयो । अध्यक्ष मल्लले विगतमा गाउँपालिकाबाट धेरै महत्पूर्ण कामहरु शुरुवात भएको वताउँदै आगामी दिनमा समेत विगतमा शुरुवात भएका राम्रा कामहरुलाई निरन्तरता दिँदै सबै वडाबासीहरुका सुझावका आधारमा नयाँ कामको समेत थालनी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष मल्लले गाउँपालिकाभित्र भएको श्रोतसाधनलाई समुचित प्रयोग गर्दै छिमेकी गाउँपालिका जोड्ने सबै सडकलाई ग्राभेल तथा ढलान गर्ने, गाउँपालिकाभित्रका सबै विद्यालयमा गुणस्तरीय र वैज्ञानिक शिक्षा संचालन गर्ने, एक घर एक धारा कार्यक्रमलाई प्रभावकारीताका साथ सम्पन्न गर्ने, महिलाहरुका लागि सीप विकास र आयआर्जनका विभिन्न कार्यक्रमहरु संचालन गर्ने, कृषिजन्य औषधी, कृषि औजार र कृषि परामर्श सेवालाई अझै प्रभावकारी बनाउने वताउनु भयो ।

उहाँले विगतमा आन्तरिक आयश्रोत बृद्धिका लागि सबै वडामा राजश्वसम्बन्धी शिविर र जनचेतना कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गरिएको, मिलनचोकमा सुविधासम्पन्न प्रसुतिगृह निर्माणको अन्तिम चरणमा रहेको, प्राकृतिक र धार्मिक सम्पदाको संरक्षण गरि जलजलालाई पर्या पर्यटनको हव बनाउन शुरुवात गरिएको, आलु र सुन्तला तथा होमस्टे पकेट क्षेत्र निर्माणका लागि सरोकारवाला निकायसँग छलफल र परामर्श अघि बढाइएको हमपाल सिमसार क्षेत्रको डिपिआर कामलाई अघि बढाउन संघ, प्रदेश र अन्तराष्ट्रिय दातृ निकायसँग समन्वयको काम भइरहेको र असहाय, अशक्त, क्यान्सर, मृगौलापीडित, सवारी दुर्घटना र बाढीपहिरोपीडितहरुको लागि ३५ लाखभन्दा बढि आर्थिक सहयोग उपलब्ध गराइएको वताउनु भएको थियो ।

spot_img

भर्खरै