पर्वत, जेठ २०–जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको ग१ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको छ । जलजला गाउँपालिका वडा नम्बर ४ फड्केढुंगामा पार्किङ गरेर राखिएको जीपमा अज्ञात समुहले आगो लगाइदिएको उपाध्यक्ष पुनले जानकारी दिइन ।
स्थानीय लालबहादुर मल्लको उक्त जीप गाउँपालिका उपाध्यक्ष पुनले गाउँपालिकाभित्रको काममा भाडामा प्रयोग गर्दै आएकी थिइन । गाउँपालिका उपाध्यक्ष पुनले जीपमा आगो लगाएको घटनाले गम्भिर बनाएको बताइन । ‘घरमा पार्किङ गरेर राखेको जीपमा मध्यरातमा आगो लगाउने घटनाले गम्भिर बनाएको छ, तत्काल अपराधी पत्ता लगाएर कडा कारबाही गरियोस’ उनले भनिन् । उनले दोषीलाई कारबाही हुनुपर्ने र अर्काको सम्पत्तिमा क्षति पु¥याउनेजस्ता यस्ता घटना रोक्नुपर्ने बताइन ।
मल्लले घर अगाडी पार्किङ गरेर राखेको जीपमा आगो लगाएका कारण असुरक्षा बढेको बताए । उनले आफ्नो ब्यावसाय गरेर खान पाउने अवस्था नभएको भन्दै भरपर्दो सुरक्षा ब्यवस्था मिलाइदिन र जीपमा आगो लगाउनेलाई तत्काल पत्ता लगाएर कारबाही गर्न माग गरे ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरिक्षक रबिन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेलाई पत्ता लगाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए । यसअघि जलजला गाउँपालिका वडा नम्बर ८ स्थित खनियाघाटमा पनि केही महिनाअघि एक्साभेटरमा आगजनी भएको थियो । घटनाको प्रकृति हेर्दा कुनै रिसिबीले घटना गराएको हुनसक्ने प्रहरीस्रोतले जनाएको छ ।


