पर्वत, जेठ १४–पैयूँ गाउँपालिकाभित्रका सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बढाउन अभियान सुरु भएको छ । लामो समय गाउँ शिक्षा अधिकारी खटिएर नआउदा समस्या भएको पैयूँ गाउँपालिकामा शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्री शिक्षा अधिकारीका रुपमा अटिएपछि उनले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर बढाउन आधारभुत बिषयमा सुधार अभियान चलाएका हुन ।
गाउँपालिकाभित्रका प्रधानाध्यापकसँग बैठक राखेर अहिलेसम्मको शैक्षिक अवस्था र भावी दिनमा गर्नुपर्ने मुल एजेण्डामा छलफल भएको हो । बैठकमा हालसम्मको समीक्षा, असल अभ्यास, निरन्तर बिद्यार्थी मूल्यांकन, बिद्यालय सुधार योजना निर्माण, दरबन्दी मिलान, शिक्षक ब्यवस्थापन, बिद्यालय समायोजन, सिकाइ उपलब्धी, अभिभावक शिक्षा, इसिडी कक्षा ब्यवस्थापन, सामुदायिक सिकाइ केन्द्रको अवस्था, आइसिटी तालिम र प्रविधिमैत्री बिद्यालय स्थापना, पुस्तकालय, बिज्ञान प्रयोगशाला र कम्प्युटर कक्षाको अवस्था, उद्घोषण तालिम, प्रतिभा पहिचान कार्यक्रम, भौतिक निर्माण, शैक्षिक पात्रो लगायतका बिषयमा छलफल भएको हो ।
बैठकमा पैयूँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङले शिक्षकहरुले बिद्यालयको शैक्षिक गुणस्तरलाई केन्द्रमा राखेर सुधार ल्याउन आग्रह गरिन । उनले भौतिक पूर्वाधारसहित आवश्यक सहयोग गर्न पैयूँ गाउँपालिका सधै तयार रहेको भन्दै सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर खस्कन नदिइ बढाउन प्रधानाध्यापकहरुलाई निर्देशन दिइन ।
पैयूँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितबहादुर रानाले पैयूँ गाउँपालिका साम्ुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति गम्भिर रहेको र त्यही अनुसार काम गर्न प्रधानाध्यापकहरुलाई आग्रह गरे । गाउँ शिक्षा अधिकारी राजेन्द्रबहादुर क्षेत्रीले बिद्यालयहरुको अवस्थाको बारेमा जानकारी लिदै आगामी दिनमा सुधार गर्नुपर्ने बिषयमा निर्देशन दिएका थिए ।
जनसेवा संस्कृत माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष गिरिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक खेमराज भुसाल, महोन्द्रोदय माविका शिक्षक कुमार उपाध्याय, पालुस्थान माविका प्रधानाध्यापक पूर्णचन्द्र काफ्ले, जनसेवा संस्कृत माविका प्रधानाध्यापक टिकाराम काफ्लेलगायतले बोलेका थिए । बैठकमा पैयूँ गाउँपालिकाले गाउँ शिक्षा अधिकारी क्षेत्रीलाई स्वागत गरेको थियो ।



