पर्वत, जेठ १३–मन्त्रिपरिषदबाट पारित भइ संसदमा दर्ता भएको प्रस्तावित मिडिया काउन्सिल बिधेयकले संविधानकै खिल्ली उडाएको यहाँ आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल प्रेस युनियनको २८ औ स्थापना दिवसका अवसरमा पर्वत शाखाले यहाँ आयोजना गरेको अन्र्तक्रियामा सहभागी वक्ताले यस्तो बताएका हुन । उनीहरुले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता भनिएपनि नयाँ बिधेयकमा सरकार नियन्त्रित निकाय बनाएर त्यसैलाई दण्डजरिवानाको फैसला गर्ने अधिकार दिनु संविधानबिरोधी प्रावधान भएको दाबी गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठले नयाँ संविधान निर्माणका क्रममा पहिला प्रेस स्वतन्त्रता प्रस्ताव गरिएपनि आफुहरुकै जोडबलमा पूर्ण प्रेस स्वतन्त्रता राखिएको बताए । ‘नेपाल पत्रकार महासंघको अध्यक्ष महेन्द्र बिष्ट हुनुहुन्थ्यो, त्यतिबेला प्रेस स्वतन्त्रता भनेर मात्रै होइन, सरकारमा गएपछि जो पनि निरंकुशता हुन्छ, पछि प्रेस दबाउन पनि सक्छन् भनेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रता हुनेछ भनेर राखिएको हो’ काँग्रेस नेता श्रेष्ठले भने–‘अहिले मिडिया काउन्सिल बिधेयकमा जुन कुरा राखिएको छ, त्यो संविधानकै खिल्ली उडाउने प्रकारको छ ।’
श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमा अधिनायकबादको भुत चढेको र सबै निकायलाई चुप राख्ने वातावरण निर्माण गर्दै गएको टिप्पणी पनि गरे । उनले राज्यका निकाय एकपछि अर्को नियन्त्रण गर्दै जानु र प्रेस तथा मानवअधिकार आयोगमा समेत हस्तक्षेप गर्नु राम्रो संकेत नभएको दाबी गरे । नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले अहिलेको परिवर्तन सानो प्रयास र दुःखले नआएको भन्दै परिवर्तनमाथि हस्तक्षेप गर्नु बर्तमान सरकारको भुल भएको बताए । उनले हिजो राणा, पञ्चायत र राजाका बिरुद्धमा हिडेको काँग्रेस पुनः कम्युनिष्ट अधिनायकबादबिरुद्धमा लड्नुपर्ने समय आउन लागेको धारणा राखे ।
नेपाली काँग्रेस पर्वतका युवा नेता एवम् पर्वत क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य पदका उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले हिजो प्रेसले निभाएको इतिहासलाई सरकारले कुठाराघात गर्न नपाउने बताए । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् युवा नेतृ राधाकुमारी कुँवर क्षेत्रीले मिडियालाई दबाउदा नागरिकको अधिकारसमेत दब्ने भएका कारण चिन्ताको बिषय भएको बताइन । नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष एवम् नेपाल प्रेस युनियन पर्वतका निवर्तमान अध्यक्ष छविलाल तिवारीले मिडियालाई नियन्त्रणमा राख्ने, भ्रष्टाचार, अपराध, अनियमितताबिरुद्धमा बोल्दा जेल जानुपर्ने बिधेयकका बिरुद्ध पत्रकारहरु चुप लागेर नबस्ने चेतावनी दिए । उनले बिधेयकमाथि सुधार नगरे देशभर बर्तमान सरकारका ब्यक्ति बहिष्कारसम्म जानुपर्ने बाध्यता हुने बताए ।
नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष मायाकुमारी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य निर्मल बिश्वकर्मा, नेपाल पत्रकार महासंघ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, दुर्गाप्रसाद शर्मा, प्रेस संगठनका प्रतिनिधि गणेश गिरी, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सचिव बैकुष्ठ गिरी, नेपाल निजामति कर्मचारी युनियन (संघ) पर्वतका अध्यक्ष यामप्रसाद शर्मा, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार (शिव), नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन पर्वतका सचिव हरिनारायण रेग्मी, प्रजातन्त्रबादी प्रध्यापक संघ पर्वतका अध्यक्ष नवराज शर्मा, नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी, सचिव साजन परियार लगायतले बोलेका थिए ।



