पर्वत, बैशाख २२–योजनाको कामै नगरी बजेट निकासा गर्ने, बिल मिलाएर खाने, बजेट आएको र खर्च भएको बिषयमा उपभोक्तालाई नै जानकारी नहुने कतिपय स्थानीय तहका गुनासो र समाचार हामी सुन्दै आएका छौ । तर यहाँको नगरपालिकाले भने योजनाको रकम भुक्तानीमा कडाई गर्ने भएको छ । फलेबास नगरपालिकाले उपभोक्ता समितिले गरेको काममा समेत कडाई गर्ने भएको छ । पारदर्शिता र सुशासनलाई जोड दिँदै नगरपालिकाले योजनाको निर्माणस्थलमै सार्वजनिक सुनुवाई गर्ने भएको हो । आगामी जेठ २५ गतेसम्म सबै योजना निर्माण गरिसक्नुपर्ने समयावधि तोकेको नगरपालिकाले निर्माणस्थलमै आम उपभोक्तामाझमा सार्वजनिक सुनुवाई गरेर मात्रै अन्तिम किस्ता निकासा गर्ने तयारी गरेको हो ।
फलेबास नगरपालिकाले योजनाका उपभोक्ता समितिका पदाधिकारीलाई नगरपालिकामा बोलाएर काममा लापरबाही नगर्न, बजेट पारदर्शी राख्न, होडिङबोर्ड अनिवार्य टास्न, योजनाको बिल भरपाईसहित आवश्यक कागजात पु¥याउन निर्देशन दिएको छ । योजना पुरा नगर्ने, प्रक्रिया नपु¥याउने, कागजात नपु¥याउनेले भनसुनका आधारमा बजेट निकासा नगर्ने नगरपालिकाले स्पष्ट पारेको छ ।
नगर प्रमुख पदमपाणी शर्माले सबै योजनाको सार्वजनिक सुनुवाई गर्ने बताए । ‘कुन योजनामा कति बजेट हो ?, त्यसले कति काम भयो ?, उपभोक्ताले कस्तो महसुस गरेका छन्लगायत बिषयमा पारदर्शीता र सुशासन कायम गर्नका लागि योजनास्थलमै पुगेर सार्वजनिक सुनुवाई गर्दैछौ’ नगर प्रमुख शर्माले भने । उनले नगरपालिकाको कामलाई प्रणालीमा लैजाने प्रयास गरिएको भन्दै नगरपालिकाले बिधि, प्रक्रियामा कडाई गरेको जानकारी दिए ।
उनले उपभोक्ता समितिका पदाधिकारी योजना निर्माण नहुँदासम्मका लागि जनप्रतिनिधिजस्तै भएको भन्दै अन्य योजनामा पनि त्यही मान्छे चाहिन्छ भन्ने आमरुपमा छाप पार्न पनि उपभोक्ता समितिका पदाधिकारीलाई आग्रह गरेका थिए । नगर प्रमुख शर्माले बर्षाको कामको कुनै अर्थ नहुने भएकाले फलेबास नगरपालिकाले जेठ २५ गते पछाडी योजनाको चेक नकाट्नेगरी तयारी गरेको जानकारी दिए । ‘हामीले जेठ २५ गतेभित्र सबै काम सम्पन्न गरी पेश गर्न निर्देशन दिएका छौ, त्यो भन्दा अगावै सबै काम सम्पन्न गरिसक्नुपर्छ’ उनले भने ।
फलेबास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोती सापकोटाले फलेबास नगरपालिकाले तोकिएको मितिमा, तोकिएको काम र तोकिएको कागजात पुरा नभएमा निकासा नगर्ने गरी तयारी गरेको दाबी गरे । उनले अहिले धेरै योजना निर्माण सम्पन्न भएर आएको र सबै योजनाको सार्वजनिक सुनुवाई गर्ने जानकारी दिए । उनले पाँच लाखसम्मका योजना वडा अध्यक्ष र त्यो भन्दामाथिका योजनामा नगर प्रमुखकै उपस्थितिमा योजनास्थलमै सार्वजनिक सुनुवाई गरेर मात्रै रकम भुक्तानी गर्ने तयारी भएको पनि बताए ।
फलेबास नगरपालिकाका लेखा अधिकृत यशोदा सुबेदीले लेखा शाखाले तोकेअनुसारको बिलभरपाईसहितका कागजात अनिवार्य रुपमा पेश गर्न आग्रह गरिन । वडा नम्बर १ का अध्यक्ष बाबुराम शर्मा, वडा नम्बर ८ का अध्यक्ष मनबहादुर कुँवर, नगरपालिकाका अधिकृत प्रकाश लम्साल, योजना ब्यवस्थापक देवी तिमिल्सिनालगायतले बर्षाको विकासको कुनै अर्थ नभएका कारण पनि समयमै योजना सम्पन्न गरेर नगरपालिकाको अभियानमा साथ दिन आग्रह गरेका थिए ।



