spot_img

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

पर्वत, बैशाख २२– सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।

सरकारले शुक्रबार संसद्मा पेस गरेको नीति तथा कार्यक्रममा पर्वतको फलामखानीबाट फलामखानी उत्खनन गर्न सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने उल्लेख गरेपछि त्यसक्षेत्रका बासिन्दा खुसी भएका छन्। नागरिक दैनिकमा छविलाल तिवारीले खबर लेखेका छन् ।

वर्षौंदेखि फलामखानी सञ्चालन गर्न माग गर्दै आएका स्थानीयले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरेपछि फलामखानी सञ्चालन हुने आशाको ढोका खुलेको भन्दै खुसी भएका हुन्। शुक्रबार संसद् बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। त्यसमा पर्वत र नवलपरासीमा रहेको फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने उल्लेख छ।

खानी सञ्चालन भएमा रोजगारीका साथै गाउँको पूर्वाधारसहितको विकास हुने स्थानीयको अपेक्षा छ।

‘सरकारले आगामी आर्थिक वर्षदेखि नवलपरासीको धौबादीमा रहेको फलामखानीबाट व्यावसायिक उत्पादन सुरु गर्नेछ। दैलेखको पेट्रोलियम, जाजरकोटको बहुमूल्य पत्थर र तामा, पर्वत र तनहुँको फलाम र मुस्ताङको युरेनियम खानी तथा सम्भाव्य स्थानमा सुनखानी उत्खननका लागि आगामी वर्ष अध्ययन कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ,’ सरकारको तर्फबाट राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

पर्वतको फलामखानीमा रहेको खानी वर्षौंदेखि अलपत्र अवस्थामा रहेको छ। खानी सञ्चालन भएमा रोजगारीका साथै गाउँको पूर्वाधारसहितको विकास हुने स्थानीयको अपेक्षा छ। वर्षौंसम्म मौलिक शैलीमा फलाम निकाल्ने र बेच्ने काम गरिएको महाशिला–६ को जंगलमा फैलिएको फलामखानी हिजोआज बन्द छ। सदरमुकाम कुश्मा बजारबाट ६ कोष दूरीमा रहेको फलामखानी झन्डै दुई सय बर्गमिटर क्षेत्रफलमा फैलिएको स्थानीय बताउँछन्।

५८ वर्ष अघिसम्म यहाँको फलाम स्थानीयले उत्खनन गरी झन्डै चार सय परिवारले जीविकोपार्जन गर्दै आएका थिए। गाउँभरि फलामको खानी भएकैले उतिबेला यो गाउँको नामै फलामखानी रहेको हो। फलामखानीमा बसोबास गर्ने बिक र दर्जी परिवारबाट कम्तीमा एक जना तत्कालीन सयममा फलामको खानीमै बस्ने गर्थे। गाउँभरिकाले सामूहिक रूपमा फलाम निकाल्थे। समूहमै खानपान गर्थे। महिनादिन लगाएर निकालेको फलामबाट घरेलु हतियार बनाएर देशका विभिन्न स्थानमा लगेर अन्नसँग साट्थे उनीहरूको नियमित काम हुन्थ्यो।

महाशिला गाउँपालिकाको गत असारमा भएको गाउँसभाले फलामखानी सञ्चालनका लागि संघीय सरकारलाई पत्राचार गरेको थियो। फलामखानीको वास्तविक अवस्था, फलामको परिमाण अध्ययन गरी व्यावसायिक रूपमा फलाम निकाल्न केन्द्र सरकारलाई पहल गर्न गाउँसभाले आग्रह गरेको थियो।

त्यसबाहेक गाउँसभाले चालू वर्षभित्रै जंगलभित्रको खानीको सुरुङसम्म पुग्ने पदमार्ग निर्माणका लागि तीन लाख विनियोजन गरेको थियो। ८ पुस २०६७ मा केन्द्र सरकारसँग फलामखानी उत्खनन गर्न लुम्बिनिस्थित नेपाल पर्वत खनिज उद्योग प्रालिले अनुमति लिएको थियो। तर पनि खानी सञ्चालनमा आएको छैन।

spot_img

भर्खरै