पर्वत, फागुन २४–जलजला गाउँपालिकाले गाउँ प्रहरी भर्ना गर्ने तयारी गरेको छ । गाउँ कार्यपालिकाको बैठकले कार्यविधि बनाएर पालिकामा आवश्यक प्रहरी भर्ना गर्ने तयारी गरेको हो । शान्ति सुरक्षाका लागि पर्वत प्रहरीले कुनै समन्वय र सहयोग नगरेको निष्कर्ष निकाल्दै जलजला गाउँपालिकाले प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।
प्रहरीले अहिलेपनि गाउँपालिकासँग समन्वय र सहयोग नगरेको, धरपकड गरेको, धेरै पटक सुरक्षा माग गर्दा पनि सुरक्षाको अनुभुति नदिएपछि आफ्नै प्रहरी राख्ने तयारी गरेको जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले जानकारी दिए । ‘प्रहरीले अहिले पनि कुनै सहयोग गरेको छैन, धरपकड जारी राखेको छ, धेरै पटक सुरक्षा माग गर्दा पनि सुरक्षाको अनुभुति दिइएन, त्यसैले गाउँ प्रहरी भर्ना गर्ने निर्णय गरेका छौ’ अध्यक्ष मल्लले भने ।
अहिले मुलुकमा अशान्ति बढ्दै गर्दा केही गाउँपालिकाको गाडीमा आगो लगाइएकोमा पनि जलजला गाउँपालिकाको ध्यानाकर्षण भएको उनले बताए । उनले पर्वत प्रहरीले सुरक्षा नदिएको र असहयोग गरेको भन्दै पालिकाको बैठकमै निर्णयगरी प्रहरी प्रधान कार्यालय, प्रधानमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय, मुख्यमन्त्रीको कार्यालयलगायतमा पत्राचार गर्ने निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्षको घरमा बम राख्ने, ब्यवसायीको डोजरमा आगो लगाउनेलाई अहिलेसम्म पनि कारबाही गर्न नसकेको, प्रहरीले उल्टै आपराधिक मानसिकताका ब्यक्तिको मनोबल बढाउने काममा सहयोग गरेको मल्लले बताए । ‘हामी जनप्रतिनिधि नै अहिले असुरक्षित भइरहेका छौ’ उनले भने । प्रहरीले पूर्वाग्रह राखेर किटानी जाहेरीसमेत दर्ता नगर्नु दुःखद भएको उनले बताए ।
यसैगरी जलजला गाउँपालिकाले कानुन र नियमअनुसार लगाएको ठेक्कालाई सुचारु गर्ने, जलजला गाउँपालिका वडा नम्बर ७ धाइरिङको मिलनचोकमा राखिएको क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । मागेको कागजात उपलब्ध गराउन नसकेको र ब्लक उद्योगको नाममा क्रसर उद्योग सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
पर्वत प्रहरीबाट असहयोग भएको भन्दै गाउँ प्रहरी भर्ना गर्ने तयारीमा जलजला गाउँपालिका



