पर्वत, फागुन १७–यहाँ आयोजित प्रथम मगर महोत्सव सम्पन्न भएको छ । मगर दिवसको अवसरमा यही फागुन ७ गतेदेखि कुश्माबजारमा महोत्सव आयोजना गरिएको थियो । महोत्सव समापनका अवसरमा बोल्दै जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले मगर जातिको लोक संस्कृति निकै आकर्षक भएको बताए । उनले लोपोन्मुख अवस्थामा रहेका कला संस्कृतिको संरक्षणमा लाग्नुपर्ने पनि बताए ।
यस्ता मेला महोत्सवले कला संस्कृतिको जगेर्ना गर्नका लागि महत्वपूर्ण भुमिका खेल्ने धारणा मल्लले राखे । सबै जातजातिका कला संस्कृति मुलुकको सम्पत्ति भएको भन्दै उनले संघीय सरकारदेखि स्थानीय सरकारसम्मले त्यसको संरक्षण गर्न ध्यान दिनुपर्ने भनाई उनले राखेका थिए । लोपोन्मुख कला संस्कृतिको संरक्षणमा जलजला गाउँपालिका सधै तयार रहेको उनले बताए । गाउँपालिका अध्यक्ष मल्लले स्थानीय सरकारलाई संविधानमा दिएको अधिकारअनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्ने बताए ।
स्थानीय सरकारबाट जनताले धेरै आशा र अपेक्षा राखेकोले प्रदेश र संघीय सरकारका कुनैपनि निकायबाट कुनै किसिमको हस्तक्षेप हुन नहुनेमा जोड दिए । कुनैपनि क्षेत्रमा क्षति नहुनेगरी स्थानीय स्रोतसाधनको प्रयोग गरेर गाउँपालिकालाई समृद्ध बनाउने योजना पुरा गर्न दिन पनि आग्रह गरे । जलजला गाउँपालिकामा स्रोतसाधनले भरिपूर्ण भएपनि त्यसको उपयोग तथा परिचालन गर्दा विभिन्न बाधा अड्चन खडा गरिएकोमा उनको दुखेसो छ ।
स्थानीय स्रोतसाधन परिचालन नगरी कुनैपनि स्थानीय तह समृद्ध बन्न नसक्ने मल्लको भनाई छ । जनताबाट निर्वाचित भएर आएका जनप्रतिनिधिलाई अहिलेको प्रहरी प्रशासनले नटेर्ने र हेप्ने गरेको भन्दै उनले शान्ति सुरक्षाको अवस्था नाजुक भएको बताए । ‘कसैले आक्रमण गरेपनि प्रहरीको ध्यान नपुग्ने अवस्था छ, जनताबाट अनुमोदन भएर आएका जनप्रतिनिधिलाई प्रहरीले नटेर्ने अवस्था छ’ उनले भने ।
पर्वतको जलजला गाउँपालिकाको कालीगण्डकी किनारका बस्ती बर्षाको समयमा सधै जोखिममा रहेको र बस्तीको संरक्षण तथा चेकड्याम निर्माणका क्रममा आक्रमण हुँदा पनि प्रहरी प्रशासन चुप बस्न्, जाहेरी दर्ता नै नगर्नु दुर्भाग्य भएको मल्लको गुनासो छ । प्रहरीले जाहेरी नलिएपछि जलजला गाउँकार्यपालिकाले नै आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै निर्णय नै गरेको थियो । केही दिनअघि एउटा औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालकै अगाडी मल्लले पर्वतमा शान्ति सुरक्षा निकै खस्केको भन्दै आक्रोश पोखेका थिए ।
जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट बस्ती संरक्षणको काम गर्दागर्दै केही ब्यक्तिले एक्साभेटरमाथि आक्रमण गरेको र उनीहरुका बिरुद्धमा किटानी जाहेरी दर्ता गर्न नमानेको सन्दर्भमा अध्यक्ष मल्ल आक्रोशित भएका हुन । यसअघि जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको खनियाघाटमा पार्किङ गरि राखेको एक्साभेटरमा रातको समयमा अज्ञात समुहले आगो लगाएको थियो ।
त्यसैगरी सोही राती अध्यक्ष मल्लको घर अगाडी रोकिराखेको गाडीमा समेत बम राखिएको थियो । आफ्नै घर अगाडी राखेको गाडीभित्र बम राख्नेलाई पक्राउ गरी कारबाही गर्न पर्वत प्रहरी असफल भएको दाबी गर्दै उनले दिनदहाडै केही ब्यक्ति आएर विकास निर्माणको काम गर्दागर्दै आक्रमण गरेको र आक्रमणबाट एक्साभेटरका अपरेटर बेपत्ता हुँदासमेत प्रहरीले जाहेरी लिन नमान्नु दुर्भाग्य भएको अध्यक्ष मल्लले बताएका छन् ।
एक्साभेटरमा अघिल्लो बिहिबार आक्रमण गर्ने समुह नै आफ्नो घरमा बम राख्ने र एक्साभेटरमा आगो लगाउने भएको हुनसक्ने आशंका उनले गरेका छन् । बिहिबार नदीबाट बस्ती संरक्षणको काम गर्दागर्दै दुई साताअघि मात्रै खरिद गरी ल्याएकोएक्साभेटरमा जलजला गाउँपालिका वडा नम्बर ८ का महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेका थिए । उक्त आक्रमणपछि एक्साभेटरका अपरेटर कुमार श्रेष्ठ सम्पर्कमा आएका छैनन् ।




