पर्वत, फागुन १२–जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालकै अगाडी आफु बढ्दो शान्ति सुरक्षाको अवस्था बिग्रदै गएकोप्रति चिन्ता ब्यक्त गरेका छन् ।
आफ्नै घर अगाडी राखेको गाडीभित्र बम राख्नेलाई पक्राउ गरी कारबाही गर्न पर्वत प्रहरी असफल भएको अवस्थामा जलजला गाउँपालिकाले बस्ती संरक्षणको जिम्मा दिएको काम गर्दागर्दै एक्साभेटरमाथि नै प्रहरीकै सामुन्ने आक्रमण गरी अपरेटर बेपत्ता पार्नेका बिरुद्धमा दिएको जाहेरी समेत पर्वत प्रहरीले दर्ता नगरेको बेला गाउँपालिका अध्यक्ष मल्लले सुरक्षाप्रति चिन्ता ब्यक्त गरेका हुन । उनले देशका विभिन्न भागमा बम बिस्फोट हुनु र सरकारले शान्ति सुरक्षा कायम गर्नसमेत नसकेको भन्दै उनले तत्काल घटना भएपनि प्रहरी प्रशासन निरिह हुन थालेको बताए ।
पुन युवा क्लबले पर्वत सदरमुकाम कुश्मामा आयोजना गरेको मगर महोत्सवको सातौ दिनको प्रमुख अथितिको रुपमा बोल्दै जलजला गाउँपालिका अध्यक्ष मल्लले प्रहरी प्रशासन सबै नागरिकको हुनुपर्ने धारणा राखे । ‘यही महोत्सव बाहिर बम पड्के पनि अहिले प्रहरी प्रशासन चुप लाग्ने अवस्था छ’ जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट बस्ती संरक्षणको काम गर्दागर्दै केही ब्यक्तिले एक्साभेटरमाथि आक्रमण गरेको र उनीहरुका बिरुद्धमा किटानी जाहेरी दर्ता गर्न नमानेको सन्दर्भमा आक्रामक भएका अध्यक्ष मल्लले भने ।
यसअघि जलजला गाउँपालिका वडा नम्बर ८ नाग्लीवाङको खनियाघाटमा पार्किङ गरि राखेको एक्साभेटरमा रातको समयमा अज्ञात समुहले आगो लगाएको थियो । त्यसैगरी सोही राती अध्यक्ष मल्लको घर अगाडी रोकिराखेको गाडीमा समेत बम राखिएको थियो । उक्त घटनामा पनि पर्वत प्रहरी दोषी पत्ता लगाउन असफल भएको थियो । अहिले दिनदहाडै केही ब्यक्ति आएर विकास निर्माणको काम गर्दागर्दै आक्रमण गरेको र आक्रमणबाट एक्साभेटरका अपरेटर बेपत्ता हुँदासमेत प्रहरीले जाहेरी लिन नमान्नु दुर्भाग्य भएको अध्यक्ष मल्लले बताएका छन् ।
एक्साभेटरमा गत बिहिबार आक्रमण गर्ने ब्यक्ति नै अध्यक्ष मल्लको घरमा बम राख्ने र केही महिनाअघि गरिएको एक्साभेटरमा आगो लगाउने भएको हुनसक्ने आशंका गरिएको छ । बिहिबार नदीबाट बस्ती संरक्षणको काम गर्दागर्दै दुई साताअघि मात्रै खरिद गरी ल्याएकोएक्साभेटरमा जलजला गाउँपालिका वडा नम्बर ८ का महेन्द्र रेग्मीसहितका केही ब्यक्तिले ढुंगामुढा गरेका थिए । उक्त आक्रमणपछि एक्साभेटरका अपरेटर कुमार श्रेष्ठ सम्पर्कमा आएका छैनन् । घटनापछि बुद्ध निर्माण सेवाका लालबहादुर मल्लले प्रहरीमा महेन्द्र रेग्मीसहितलाई किटानी जाहेरी दिएका थिए । उक्त जाहेरी पर्वत प्रहरीले राजनीतिक दाउपेचका आधारमा दर्ता गरेको छैन ।
सिडिओकै सामुन्ने गाउँपालिका अध्यक्षले लिए शान्ति सुरक्षाको चिन्ता



