
पर्वत, फागुन १–प्रमुख जिल्ला अधिकारीको काम शान्ति सुरक्षा कायम राख्ने हो । जिल्लामा भएका सरकारी कार्यालयबिच समन्वय गर्ने हो । राजनीतिक पार्टीबिच समदुरीको सम्बन्ध राख्ने हो । सबै राजनीतिक पार्टी, जातजाति, भाषा, धर्मसबैलाई समान रुपमा ब्यवहार गर्ने उनको दायित्व हो । तर पर्वतका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल भने राजनीतिक पार्टीको कार्यक्रममा सहभागी हुन थालेका छन् ।
पर्वतमा प्रवेश गरेदेखि नै नेकपाका जिल्ला नेताहरुको सल्लाहमा शान्ति सुरक्षाको गतिविधि थालेका ढकाल नेपाली काँग्रेसका नेता, कार्यकर्ता हुन वा काँग्रेस निकट कर्मचारी, शिक्षक हुन उनी तर्किएर हिँड्ने गरेका छन् । नेकपाका नेताकै निर्देशनमा चल्ने गरेको आरोप लागेका उनी जनयुद्ध दिवस मनाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्वतको पार्टी कार्यालय पुगेका छन् ।
उनले नेकपाको ब्यानरमुनि नेकपाका नेतासँगै औपचारिक कार्यक्रममा बसेर तस्बिर खिचाएका छन् । नेपाली काँग्रेसको तर्फबाट पूर्वमन्त्रीसमेत जिल्लामा सामाजिक संघसंस्था र बिद्यालयका कार्यक्रममा आउदासमेत उपस्थित नहुने प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल नेकपाको कार्यक्रम र नेकपाका नेतासँग भने कुम जोडेर हिँड्ने गरेका छन् ।
उनले पछिल्लो समयमा जिल्ला प्रशासनले नेतृत्व गर्ने विभिन्न बिषयगत समितिको बैठकमा समेत काँग्रेसमा आबद्ध भएर सामाजिक संघसंस्थाको नेतृत्व गरेकालाई खबर नगराउने गर्दै आएका छन् । धेरैले पर्वतका प्रमुख जिल्ला अधिकारी ढकाललाई नेकपाकै कार्यालयमा जिल्ला प्रशासन सार्न सुझाब पनि दिएका छन् । ढकाललाई निमन्त्रणा दिएपनि पूर्वमन्त्री गगन थापा उपस्थित हुने सुर्यप्रकाश मावि दुर्लुङको कार्यक्रममा उनी सहभागी भएनन् ।
त्यस्तै नेपाली काँग्रेस पर्वतले चाडपर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा समेत देखिएनन् । सुरक्षा गार्ड दलित भएकै कारण फर्काएको भन्दै विवादमा समेत तानिएका प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो दायित्व भित्र रहेर काम गर्ने भन्दा पनि पूर्वाग्रह पालेर कर्मचारीदेखि कार्यालय प्रमुख हुन वा राजनीतिक पार्टी हुन अनावश्यक दुःख दिदै आएको आरोप लागेको छ ।


