
पर्वत, कार्तिक २५–बामगठबन्धनको बिरुद्ध एमाले र माओबादीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम जारी छ । यसैक्रममा बिहादी गाउँपालिका वडा नम्बर ६ बाच्छामा दर्जनबढी नेकपा एमालेका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कामै नगर्ने गफ मात्रै गर्ने एमाले र जनयुद्धको नाममा हजारौ नेपाली जनतालाई मार्ने माओबादीबिचको गठबन्धनले मुलुकको हित नगर्ने सोचेर आफुहरु नेपाली काँग्रेसमा समाहित भएको उनीहरुले बताएका छन् ।
काँग्रेसमा प्रवेश गर्नेलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्वतका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा पर्वत ख का नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस महासमिति सदस्य गंगाधर तिवारी लगायतले अबिर लगाएर पार्टीको साधारण सदस्यता प्रदान गरेका थिए । पार्टी प्रवेशका क्रममा जोशीले पर्वतमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिट जित्ने बताए ।

पर्वत काँग्रेसका उम्मेदवारसँग कसैको प्रतिष्पर्धा नै नभएको बताउदै जोशीले बामगठबन्धन भएपनि एमाले र माओबादीका धेरै कार्यकर्ताले नेपाली काँग्रेसलाई मत दिने दाबी गरे । बामगठबन्धनको नाममा एमाले र माओबादीले जनतालाई भेडासम्झेको भन्दै उनले लोकतन्त्रको रक्षा र पर्वतको समग्र विकासका लागि काँग्रेसको पक्षमा जिल्लाभर लहर आएको जोशीले बताए । प्रदेशसभाका पर्वत ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले गाउँगाउँ र टोलटोलमा जनताले देखाएको मायाले उत्साह थपेको भन्दै काँग्रेसको जित कसैले रोक्न नसक्ने बताए ।


