पर्वत, कार्तिक ९–नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी पर्वतबाट प्रतिनिधिसभा सदस्य निर्वाचन लड्ने निश्चित भएको छ । बिहिबार बसेको काँग्रेस संसदीय समितिले जोशीसहित शिर्ष नेताको निर्वाचन क्षेत्र तय गरेको हो । ०५६ सालको प्रतिनिधिसभा निर्वाचन, ०६४ र ०७० को संविधानसभा सदस्यमा पर्वत–१ बाट निर्वाचित जोशी चौथो पटक मैदानमा उत्रिएका हुन । जोशीको उम्मेदवारीको टुंगो लागेसँगै पर्वतका काँग्रेस कार्यकर्तामा उत्साह थपिएको छ । जिल्लामा रहदा सधै जिल्लाबासीको समस्या संकलन गर्ने र केन्द्रमा पुगेर विकासे योजना भित्राउन सक्रिय उनले ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बिजयी हुने निश्चित जस्तै भएको काँग्रेस कार्यकर्ताले बताएका छन् । पर्वत–१ मा सधैँ जितिरहेको र पर्वत–२ मा जोशी झनै लोकप्रिय भएका कारण उनको जीत सुनिश्चित भएको उनीहरुको जोड छ । काँग्रेस नेता जोशी पर्वत–१ बाट निर्वाचित भएपनि उनले सधैँ पर्वत–२ मा समेत बर्षेनी हरेक साविकका गाविसमा मागअनुसारका कुनै न कुनै योजना भित्राउदै आएका थिए । बोलेपछि पुरा गरेरै छाड्ने स्वभावका जोशी जिल्लामा आउदा हरेक दिन गाउँमा पुगेरै छाड्छन् ।


