पर्वत, साउन १९–शिक्षक नारायण पौडेलको हत्याको आरोप लागेका पाँच जनालाई अदालतले धरौटीमा रिहा गरेको छ । कुश्मा–१ पाङका पौडेलको मृत्यु नभई हत्या भएको परिवारले किटानी जाहेरी दिएपनि आइबल एकेडेमीका प्रिन्सिपल विमल पौडेल, बिद्यालयका अभिभावक चन्द्रमान प्रधान, देउकुमार श्रेष्ठ, जयबहादुर श्रेष्ठ र कार्यालय सहयोगी मञ्जु पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बागलुङ जिल्ला अदालतले तीन दिन लामो बहसपछि पुरीलाई १० हजार र अन्यलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले हत्या गरेको प्रमाण नपुगेको भन्दै पक्राउ परेकालाई थुनामा पठाउन नपर्ने आदेश दिएको हो । कुश्मा–९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका शिक्षक पौडेल जेठ २५ देखि बेपत्ता थिए ।
दुई सातापछि बागलुङको जैमिनी नगरपालिका अन्र्तगत कालीगण्डकी नदी किनारमा शव भेटिएको थियो । उक्त शव पौडेलकै भए÷नभएको बिषयमा पुष्टि गर्न प्रहरीले डिएनए परिक्षणका लागि काठमाडौ पठाएको थियो । परिक्षणमा बाबुआमाको रगतसँग मिलेको पुष्टि भएपछि परिवारले नियोजित रुपमा बिद्यालयमा बोलाएर हत्या गरेको भन्दै किटानी जाहेरी दिएका थिए ।
२० बर्षिय पौडेल कुश्मा–५ मेलमिलापचोकमा डेरा लिएर बस्दै आएका थिए । बिद्यालयमा बिद्यार्थीलाई कडा सजाय दिएको गुनासो आएपछि पौडेललाई प्रिन्सिपल बिमल पौडेलले अभिभावकसँग माफी माग्न आग्रह गरेका थिए । त्यस दिनपछि नारायण बिद्यालय गएका थिएनन् ।
पौडेल बेपत्ता भएपछि उनी बस्ने कोठामा खाना पकाउने तयारी र लुगा धुनका लागि भिजाएको भेटिएको प्रहरीले जनाएको थियो । तीन छोरामध्ये उनी परिवारका माइला हुन । शवको काठमाडौमा पोष्टमार्टम गर्दा धारिलो बस्तुको दबाबले घाटीमा चोट लागेको र त्यसकै कारण मृत्यु भएको उल्लेख छ ।
उजुरीपछि पर्वत प्रहरीले अनुसन्धान गरेपनि प्रमाण पु¥याउन सकेको थिएन् । शव जैमिनी नगरपालिका बागलुङमा भेटिएका कारण सरकारी वकिल कार्यालयको सुझाबका आधारमा बागलुङ प्रहरीले नै मुद्दा अगाडी बढाउनुपर्ने देखिएको भन्दै पक्राउ परेका ब्यक्ति र अनुसन्धान मिसिल नै पर्वत प्रहरीले बागलुङ प्रहरीलाई बुझाएको थियो । प्रहरीले पक्राउ परेका बिरुद्ध बागलुङ अदालतमै मुद्दा दर्ता गरेको थियो ।


