spot_img

निर्माणाधिन सिंचाई आयोजनाको अहिलेसम्मको काम र लाखौँको सामान बाढीले बगायो

पर्वत, असार १३–निर्माणाधिन यहाँको एक सिंचाई आयोजनामा बाढी आउदा लाखौँको क्षति भएको छ । मोदी गाउँपालिका–६ स्थित निर्माणाधिन रतीखोला सिंचाई आयोजनामा सोमबार राती आएको बाढीले लाखौँको सामान बगाएको हो । मंगलबार बाँधमा ढलान गर्ने तयारी अवस्थामा राखिएका सामान र अहिलेसम्मको काम बाढीले बगाउँदा १० लाख बढीको क्षति भएको ठेकदार बिशाल लामिछानेले जानकारी दिए ।
‘मंगलबार ढलान गर्नेगरी रड, सिमेन्ट, तयारी गिट्टी, बालुवा, विभिन्न पाइप, वाटरप्रुफ प्लाइबुडसहितका सामानहरु बगाएको छ’ बाढीले लाखौ रुपैयाँको सामान बगाएपछि निरिक्षणका लागि पुगेका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीसमक्ष लामिछानेले भने । उनका अनुसार बाँधमा अहिलेसम्म भएको काम पनि बाढीले बगाएर पुर्णरुपमा क्षति पु¥याएको छ । ‘दुई दिन पानी नपरी बाढी नआएको भए लगभग बाँधको काम पुरा गर्ने थियौ’ लामिछानेले भने–‘अहिलेसम्मको काम र लाखौको सामान बगाएको छ ।’
उनकाअनुसार ढलानका लागि तयारी अवस्थामा राखिएको एक सय ५० बोरा सिमेन्ट, ३० क्वीन्टल रड, एक सय थान ‘यु ज्याक टेका’, ६० प्रति दुई इन्चको २० फुटे एनएस पाइप, ५० घनमिटर गिट्टी र बालुवा, ४० प्रति १२ एमएमको ८४ को वाटरप्रुफ प्लाइबड, दुई क्वाइल जिआई वायरलगायतका सामान खोलाको बाढीले बगाएको छ । ‘बाढी नआएको भए मंगलबार बाँधमा ढलानको काम सक्ने योजना थियो’ उनले भने ।
सिंचाई विकास सव डिभिजन पर्वतका प्रमुख इन्जिनियर राजेन्द्र श्रेष्ठले रतीखोला सिंचाई आयोजनाको चालु आर्थिक बर्षमा ३० प्रतिशत काम सम्पन्न हुने अनुमान गरेको भएपनि बाढीले प्रगति निकै कम देखिने भएको बताए । ‘छोटो समयमा पनि कामको राम्रो प्रगति भइरहेको थियो’ श्रेष्ठले भने ।
गत जेठमा ठेक्का लगाएर काम सुरु भएको यो आयोजना २०७५ जेठसम्म सम्पन्न गर्नुपर्ने हुन्छ । फेवा कन्ट्रक्सनले भ्याटबाहेक ७४ लाख रुपैयाँमा ठेक्का पाएको थियो । झण्डै ३० प्रतिशत छाडेर ठेक्का लिएको फेवा कन्ट्रक्सनले लाखौँ रुपैयाँको सामान र अहिलेसम्मको काम बाढीले बगाएपछि चिन्तित भएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले बाढीले बगाएको सिंचाई आयोजनाको मंगलबार निरिक्षण गरेका थिए । यो मोदी गाउँपालिकाकै महत्वपूर्ण सिंचाई आयोजना हो ।

spot_img

भर्खरै