पर्वत, जेठ २६–दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ । ख्यंगि प्रान्तको पुछन सुगुरीस्थित एक फर्निचर कम्पनीमा कार्यरत कुस्मा नगरपालिका –११ पकुवाका राजकुमार बिकको ज्यान गएको हो ।
ईपिएस मार्फत तीन बर्ष अघि कोरिया गएका २८ बर्षीय बिकको फर्निचरमा काम गर्दा गर्दै दुर्घटनामा परेर ज्यान गएको त्यहाँ काम गर्ने एक नेपालीले जानकारी दिएका छन् । मृतक विकको शवलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको बताईएको छ । कम्पनी मालिकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी राजधानी सोल स्थित नेपाली दूतावासका उपनियोग प्रमुख किरण शाक्यले घटनाका बारे त्यहाँ कार्यरत नेपालीले जानकारी गराएको र कोरियन प्रहरीले अझैसम्म जानकारी नगराएको बताए । झण्डै पौने लाख नेपाली युवाले कोरियन भाषा परिक्षा दिने तयारी गरिरहेको बेला यस्तो दुखद दुर्घटना भएको छ ।
कोरियामा औद्योगिक दुर्घटनामा परी सन् २००८ यता दर्जन बढी नेपालीले ज्यान गुमाईसकेका छन् भने त्यो भन्दा बढी अंगभंग भएका छन् ।
कोरिया आउनु अघि दिईने अभिमुखिकरण तालिममा औद्योगिकसुरक्षा र यहाँको कामका बारेमा मौखिक मात्र नभई भिडियो मार्फत पनि जानकारी दिन सके दुर्घटनामा पर्ने सम्भावना कम हुन सक्छ । यस तर्फ नेपाल सरकार, वैदेशिक रोजगार विभाग र इपिएस शाखाको ध्यान जान जरुरी छ ।
दुर्घटनामा परी पर्वतका राजकुमारको कोरियामा गयो ज्यान


