पर्वत, जेठ १, पर्वतका सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । पैंयूमा बिहान ९ बजेदेखि नै गणना सुरु गरिएपनि नतिजा बाहिर सार्वजनिक गरिएको छैन । पैयूँको १, २, ३ र ४ वडाको छुट्टाछुट्टै गणना सुरु गरिएको छ ।
चार वटै वडाको सबै गणना सकिएपछि मात्रै सार्वजनिक गर्ने तयारी भएको छ । ५, ६ र ७ को त्यसपछि क्रमशः गणना गरिने भएको छ । यता बिहादी गाउँपालिका, महाशिला गाउँपालिका र मोदीगाउँपालिकामा ११ बजेदेखि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधिश मोहनराज भट्टराईले जानकारी दिए ।
यता कुश्मा नगरपालिका, फलेबास नगरपालिका र जलजला गाउँपालिकाको साढे १२ बजेबाट गणना सुरु गरिएको छ । कुश्मा नगरपालिकाको वडा नम्बर १ बाट गणना सुरु भएको छ । अहिले दुई वटा बाकसको मत खन्याएर मतपत्र मिलाउने काम भइरहेको भट्टराईले बताए । उनका अनुसार मंगलबार साँझ वा बुधबार बिहानसम्ममा गणना सक्ने अनुमान निर्वाचन कार्यालयले गरेको छ ।
९९ हजार दुई सय ४३ मतदाता रहेको पर्वतमा आइतबार सम्पन्न निर्वाचनमा ६९ हजार ७५ मत खसेको थियो ।


