समीक्षा अनुसार सङ्ख्यात्मक रूपमा सरकारले सबैभन्दा धेरै औद्योगिक क्षेत्र अन्तर्गतका संस्थानबाट घाटा व्यहोरेको छ। औद्योगिक क्षेत्र अन्तर्गतका नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट उद्योग र नेपाल ओरिण्ड म्याग्नेसाइट घाटामा रहेका छन्। यी उद्योग क्रमशः १० करोड ८३ लाख, १० करोड ८१ लाख र ११ करोड ९५ लाख घाटामा रहने समीक्षामा उल्लेख छ।
यसमध्ये औषधि लिमिटेड हालै सञ्चालनमा आएको छ भने ओरिण्ड म्याग्नेसाइट निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिने सरकारको तयारी छ। औद्योगिक क्षेत्र अन्तर्गतकै दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी र हेटौँडा सिमेन्ट क्रमशः ६९ लाख, एक करोड ५६ लाख र १० करोड ७५ लाख रुपियाँ नाफामा छन्। बन्द जनकपुर चुरोट कारखानाको नाफा नोक्सान समीक्षामा समावेश गरिएको छैन।
सरकारका व्यापारिक संस्थान अन्तर्गत यस वर्ष सबै संस्थान नाफामा रहने देखिएको छ। यस अन्तर्गतका कृषि सामग्री कम्पनी, राष्ट्रिय बीउ बिजन कम्पनी, नेसनल टे«डिङ लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम र टिम्बर कर्पोरेसन चालू आवको अन्त्यसम्म ५३ करोड २३ लाख रुपियाँ नाफा आर्जन गर्ने लक्ष्य छ। सेवा क्षेत्रका संस्थान अन्तर्गतका राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र ५० लाख घाटामा रहेको बाहेक बाँकी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल कन्स्ट्रक्सन कम्पनी, नेपाल पारवहन तथा गोदाम व्यवस्था, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण नाफामा रहेका छन्। यी सार्वजनिक संस्थानले चालू आवको अन्त्यमा ८२ करोड ३७ लाख रुपियाँ नाफा आर्जन गर्ने जनाइएको छ। सामाजिक संस्थान अन्तर्गत गोरखापत्र संस्थान, जनक शिक्षा सामग्री केन्द्र र राष्ट्रिय आवास कम्पनी नाफामा छन्। गोरखापत्र संस्थानले चालू आवको अन्त्यमा १० करोड ९१ लाख नाफा गर्ने लक्ष्य राखेको छ। यसै अन्तर्गतको नेपाल टेलिभिन चालू आवको अन्त्यसम्म १० करोड २४ लाख घाटामा रहने उल्लेख छ।
जनउपयोगी क्षेत्र अन्तर्गत नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)बाहेक नेपाल विद्युत् प्राधिकरण र नेपाल खानेपानी संस्थान घाटामा छन्। सार्वजनिक संस्थानमध्ये नेपाल टेलिकम सबैभन्दा धेरै अर्थात १६ अर्ब ७४ करोड ६२ लाख रुपियाँ नाफामा पुग्ने लक्ष्य छ। त्यस्तै विद्युत् प्राधिकरण सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै अर्थात सात अर्ब ९७ करोड घाटामा रहने समीक्षामा उल्लेख गरिएको छ। वित्तीय क्षेत्र अन्तर्गतका सबै संस्थान नाफामा रहने लक्ष्य छ। यी सबै संस्थानको नाफा १० अर्ब ३२ करोड चार लाख पुग्ने लक्ष्य रहेको जनाइएको छ। यस अन्तर्गत कृषि विकास बैङ्क, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी, एनआईडीसी डेलपमेन्ट बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, निक्षेप तथा कर्जा सुरक्षण कोष, नेपाल आवास फाइनान्स, नेपाल स्टक एक्सचेञ्ज, नागरिक लगानी कोष, जलविद्युत् लगानी तथा विकास कम्पनी र नेपाल बैङ्क लिमिटेड रहेका छन्।


