काठमाडौँ भदौ १५ । आव २०७१/७२ मा राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारणमा गत वर्षको सोही अवधिको तुलनामा १३।७३ प्रतिशतले वृद्धि भएको छ ।
अर्थमन्त्री डा रामशरण महतको उपस्थितिमा आव २०७१/७२ को आजको वार्षिक समीक्षा बैठकले राजस्व सङ्कलनमा प्रगति हासिल गरेको जनाएको हो । आव २०७१/७२ का लागि रु चार खर्ब २२ अर्ब ९० करोड राजस्व सङ्कलनको वार्षिक लक्ष्य निर्धारण गरिएकामा रु चार खर्ब पाँच अर्ब ८४ लाख राजस्व सङ्कलन गरेको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार कुल राजस्व सङ्कलनमध्ये कर राजस्वबापत रु तीन खर्ब ५५ अर्ब ९४ करोड २९ लाख र गैरकर राजस्वतर्फ रु ४९ अर्ब ९० करोड ३५ लाख सङ्कलन भएको छ, जुन कुल राजस्व सङ्कलनको क्रमशः ८८।३२ प्रतिशत र ११।६८ प्रतिशत रहेको छ । आव २०७१/७२ मा मुख्य शीर्षकको वार्षिक राजस्व अवस्थालाई विश्लेषण गर्दा मूल्य अभिवृद्धि करको योगदान २७।६९ प्रतिशत, भन्सार महसुलको योगदान १८।४० प्रतिशत, आयकरको योगदान २१।८० प्रतिशत तथा अन्तःशुल्कको अंश १३।१९ प्रतिशत र गैरकर राजस्वको अंश १२।३० प्रतिशत रहेको छ ।
सोही आव २०७१/७२ मा भन्सार महसुल रु ८० अर्ब ६६ करोड ९२ लाख सङ्कलन भएकामा सोही आवमा रु ७४ अर्ब ६७ करोड १० लाख सङ्कलन भई १० प्रतिशतको वृद्धिदर कायम भएको छ । त्यस्तै आव २०७१/७२ मा मूल्य अभिवृद्धि कर रु १२१ अर्ब ७३ करोड सात लाख सङ्कलन भएकामा सोही आवमा रु एक खर्ब १२ अर्ब ३७ करोड ७३ लाख सङ्कलन भई १२।३० प्रतिशतको वृद्धिदर कायम भएको छ ।
सो अवसरमा विभागीय प्रमुख र काठमाडौँ उपत्यकास्थित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै अर्थमन्त्री डा महतले मूल्य अभिवृद्धिकरतर्फ बिलिङलाई प्रभावकारी बनाउन, इलेक्ट्रोनिक क्यास मेसिनको कार्यान्वयन गर्न र भन्सार मूल्याङ्कनमा सुधार गरी करदाता शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
सो अवसरमा राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले राजस्व सङ्कलनका लागि सकारात्मक सन्देश प्रवाह हुनुपर्ने र कर सहभागिताका लागि सरल पहुँच स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । अर्थ मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले कार्य क्षमता अभिवृद्धि गरी राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न विभागीय प्रमुख तथा कार्यालय प्रमुखलाई निर्देशन दिनुभयो । रासस