काठमाडौँ भदौ १५ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ ।
निगमको एयरबस ए ३२०-२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२ः४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव भएको भन्दै काठमाडौँ–बैङ्लोर उडान बन्द गरेको थियो ।
पछिल्लो समय निगमले नयाँ एयरबस भित्र्याएपछि बैङ्लोर उठान सुरु गरिएको र सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने निगमले जनाएको छ ।
बैङ्लोरका लागि निगमले प्रवद्र्धनात्मक भाडादर करसहित दुईतर्फी भाडा रु २१ हजार तोकेको निगम संस्थागत विभागका कामु उपनिर्देशक शैलेश कंशाकारले राससलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली र विदेशीलाई समान भाडादर कायम गरिएको छ । बैङ्लोरबाट ४० जना यात्रु बोकेर निगमको एयरबस भारतीय समयअनुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि उडान गर्नेछ । यात्रुले दुईवटा टिकट किन्दा एउटा निःशुल्क पाउने निगमले जनाएको छ ।
बैङ्लोरबाट बिदा मनाउन नेपाल आउने र नेपालबाट बैङ्लोर जाने यात्रुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले भदौ १८ गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ । रासस