काठमाडौं, भदौ १३ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता चेल्सीको खराब लय कायमै रहेको छ ।
शनिबार राति भएको खेलमा चेल्सी क्रिस्टल प्यालेससँग २–१ गोलअन्तरले पराजित भयो । क्रिस्टल प्यालेसको जितमा खेलको ६५औं मिनेटमा साको र ८१औं मिनेटमा वार्डले गोल गरे । चेल्सीका लागि खेलको ७९औं मिनेटमा फाल्काओले एक गोल गरे ।
जारी लिगमा खेलेका ४ खेल मध्येमा चेल्सी २ खेलमा पराजित भइसकेको छ । एक खेल बराबरी भएको थियो भने एक खेलमा मात्र उसले जित निकालेको थियो । यो हारसँगै चेल्सी अंक तालिकाको १३औं स्थानमा रहेको छ भने क्रिस्टल प्यालेस समान खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
शनिबार राति नै भएको अर्को खेलमा उपाधि दाबेदाबर म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–० गोलले हराएको छ । जारी लिगमा शतप्रतिशत जितसँगै म्यानसिटी ४ खेलबाट १२ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।
यस्तै, वेस्टह्याम युनाइटेडले लिभरपुलमाथि ३–० को रवाफिलो जित दर्ता गर्यो । वेस्टह्याम सातौं स्थानमा उक्लिएको छ भने लिभरपुल छैटौं स्थानमा झरेको छ ।
शनिबार राति नै भएको अन्य खेलहरुमा न्यूकासल युनाइटेडले आर्सनललाई १–० ले हराउँदा एस्टन भिल्ला र सन्डरल्यान्डले २–२ गोलको बराबरी खेले । टोटेनहाम हट्सपर र एभर्टनको खेल गोलरहित बराबरीमा टुंगिदा वेस्टब्रोमले स्टोक सिटीलाई १–० ले पराजित गर्यो भने लेस्टर सिटी र बोर्नेमाउथले १–१ गोलको बराबरी खेले ।