spot_img

आर्थिक अनुशासनमा महाशिला गाउँपालिका उत्कृष्ट, बेरुजु शून्य कायम

पर्वत/जिल्लाको महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणमा बेरुजु शून्य कायम गर्दै आर्थिक अनुशासनमा उत्कृष्टता हासिल गरेको छ । गाउँपालिकाले यस उपलब्धिप्रति सम्बन्धित सबै जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरेको छ ।
महालेखापरीक्षकको कार्यालयमार्फत सार्वजनिक आर्थिक वर्ष २०८१/८२ को एकीकृत वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको आय तथा व्ययतर्फ कुल ७१ करोड ४८ लाख ६६ हजारको लेखापरीक्षण सम्पन्न भएको थियो । उक्त लेखापरीक्षणका क्रममा गाउँपालिकाको बेरुजु शून्य कायम भएको जनाइएको छ । गाउँपालिकाका अनुसार स्थानीय तहबाट भएको आम्दानी तथा खर्चमा पूर्ण आर्थिक अनुशासन कायम भएको प्रतिवेदनले पुष्टि गरेको छ । महालेखापरीक्षकको ६१औँ प्रतिवेदनमा उल्लेख भएअनुसार लेखापरीक्षण सम्पन्न भएका कुल ७५३ स्थानीय तहमध्ये केवल तीन स्थानीय तहले मात्र उक्त आर्थिक वर्षमा शून्य बेरुजु कायम गरेका छन् । तीमध्ये पर्वतको महाशिला गाउँपालिका पनि समावेश भएको हो ।
यस उपलब्धिले गाउँपालिकाको पारदर्शिता, इमान्दारिता र आर्थिक अनुशासनप्रतिको प्रतिबद्धता झल्किएको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेयद्वारा जारी धन्यवाद पत्रमा बेरुजु शून्य कायम गर्न मार्गदर्शन गर्ने जनप्रतिनिधि, गाउँसभाका सदस्य, अध्यक्ष, उपाध्यक्ष, गाउँ कार्यपालिकाका सदस्य तथा राष्ट्रसेवक कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ ।
गाउँपालिकाले आगामी वर्षहरूमा पनि आर्थिक अनुशासन कायम राख्दै सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

spot_img

भर्खरै