पर्वत, चैत ७–यहाँबाट यसबर्षको एसईई परीक्षामा तीन हजार ४३ जना बिद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला शिक्षा कार्यालय पर्वतले बिहिबारदेखि सुरु हुने परीक्षामा १९ वटा केन्द्रबाट तीन हजार ४३ जनाले परीक्षा दिने जानकारी दिएको छ । तीन हजार ९६ जनाले आवेदन फाराम भरेपनि ५३ जना विभिन्न कारणले अयोग्य देखिएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।
एक हजार पाँच सय ३१ जना छात्रा र एक हजार पाँच सय १२ जना छात्रले पर्वतमा एसईई परीक्षा दिने भएका हुन । नियमित तर्फ दुई हजार आठ सय ७९ र एक्जाम्टेडतर्फ एक सय १५ जना तथा प्राविधिक बिषयतर्फ ४९ जना रहेको पौडेलले बताए । पर्वतमा ७९ सामुदायिक बिद्यालय र १३ वटा संस्थागत बिद्यालयका बिद्यार्थी उक्त परीक्षामा सहभागी हुनेछन् ।
जिल्ला शिक्षा कार्यालयले १९ वटा केन्द्रका केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्षसहितलाई तालिम दिएर पठाएको जनाएको छ । त्यस्तैगरी परीक्षामा एक सय ३४ जना निरिक्षक र दुई सय ८५ जना सुरक्षाकर्मी परिचालन हुने भएका छन् । विगतका बर्षको तुलनामा एक्जाम्टेडतर्फ निकै कम बिद्यार्थी रहेका छन् । गतबर्ष आठ सय २४ जना एक्जाम्टेडतर्फ रहेकोमा यसबर्ष एक सय १४ जना बिद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।
बिद्यालय निरिक्षक झकप्रसाद गौतमले १० बर्षसम्म विद्यार्थीले सिकेको शिक्षालाई प्रमाणिकरण गर्ने माध्यमका रुपमा रहेको एसईई परीक्षाको सम्पूर्ण तयारी पुरा भएको बताए । ‘सबै तयारी पुरा भएको छ, उत्तरपुस्तिका सबै केन्द्रमा पुगिसकेको छ, प्रश्नपत्र बुधबार पुगिसक्छ’ उनले भने । जिल्ला शिक्षा अधिकारी पौडेलले विगतका बर्षमा भन्दा अझ बढि मर्यादित र व्यवस्थित तरिकाले परीक्षा सञ्चालन गर्नेगरि तयारी गरिएको बताए ।