चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार गाउँपालिकाको कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी कृषि फर्मलाई अनुदान दिएर अकबरे खुर्सानी खेती विस्तार गर्न थालिएको उनले बताए । गाउँपालिकाले सूचना प्रकाशन गरेर प्राविधिक मूल्यांकनपछि इच्छुक चारवटा कृषि फर्म छनोट गरी कार्यक्रम अगाडि बढाइएको छ । छनोटमा परेका फर्मलाई आवश्यक प्राविधिक सहयोग, तालिम, बीउबिजन, मलखाद तथा अनुदान प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत गैरेले बताए ।
उनका अनुसार पहिलोपटक वडा नं. ६ को हाडिकखर्क कृषि तथा पशुपक्षी फर्म, वडा नं. ३ को बेउलवास कृषि तथा पशुपक्षी फर्म, वडा नं. ४ को वेशीथोक कृषि तथा पशुपक्षी फर्म र वडा नं. ३ मै रहेको कानुन कृषि तथा पशुपक्षी फार्मलाई अनुदान दिएर ठुलो क्षेत्रफलमा अकबरे विस्तार गरिने भएको छ । हरेक फर्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ ।
अन्य सामान्य खुर्सानीको तुलनामा यसको मूल्य धेरै हुने भएकाले किसानका लागि यो आकर्षक आम्दानीको स्रोत बन्ने उनको भनाइ छ । सानो क्षेत्रफलमा समेत राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न पालिकाले आग्रह गरेको छ । पछिल्लो समय बजारमा अकबरे खुर्सानीको मूल्य स्थिर र उच्च रहने गरेको देखिएकाले यसको उत्पादन विस्तारलाई दिगो आयआर्जनका आधारका रूपमा हेरिएको अध्यक्ष ठकुरीले बताए । पोषणका हिसाबले पनि अकबरे खुर्सानी निकै महत्त्वपूर्ण मानिन्छ ।
यसमा भिटामिन ‘सी’, ‘ए’ र ‘ई’जस्ता आवश्यक पोषक तत्व प्रशस्त मात्रामा पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने कृषक हाडिकखर्क कृषि तथा पशुपक्षी फर्मका सञ्चालक यामबहादुर क्षेत्रीले बताए । यसमा पाइने क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने, रक्तसञ्चार सन्तुलित राख्ने तथा केही दीर्घरोगको जोखिम कम गर्न मद्दत गर्ने विश्वास गरिएको छ । त्यसैले यो केवल मसला मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उपयोगी बालीका रूपमा रहेको क्षेत्री बताउँछन् । तरकारी, अचार, चटनी तथा विभिन्न परिकारमा यसको प्रयोगले नेपाली स्वादलाई अझ विशेष बनाउने गरेको छ ।
यसले स्थानीय पहिचान र परम्परालाई समेत संरक्षण गरेको छ । अकबरे खुर्सानी खेतीमा रोग, कीरा तथा मौसमीय जोखिमजस्ता चुनौती पनि कम हुने बताइएको छ । पैंयु गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदेबाली प्रवर्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यस्तो कार्यक्रम अघि बढाएको जनाएको छ । स्थानीय तहको यस पहलले कृषकलाई परम्परागत खेतीबाट व्यावसायिक तथा प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि र आम्दानी विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


