पर्वत, बैशाख ११–नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । गुप्तेश्वर बिराट कोटीहोम महायज्ञको समापन समारोहलाई शनिबार सदरमुकाम कुश्मामा सम्बोधन गर्दै कोइरालाले यस्तो बताएका हुन । उनले मुलुक धार्मिक निरपेक्ष र सापेक्ष दुबै नहुने दाबी गरे । ‘राष्ट्र धार्मिक निरपेक्ष हुनसक्दैन र सापेक्ष पनि हुनुहुँदैन’ उनले भने–‘त्यसैले नेपाली काँग्रेस पहिलेदेखि नै धार्मिक स्वतन्त्रताको पक्षमा रहदै आएको छ ।’
हिन्दु धर्मले पनि धर्म स्वतन्त्रताकै कुरा गरिरहेको सन्दर्भ कोट्याउदै महामन्त्री कोइरालाले संविधानमा धर्म निरपेक्षतालाई सुधार गर्नुपर्नेमा जोड दिए । ‘म नेपाली काँग्रेसको महामन्त्री हुँ, मैले धर्म स्वतन्त्र हुनुपर्छ भन्दै आएको छु, हाम्रो चारतारे झण्डामध्ये एउटा तारा धर्म स्वतन्त्रताको प्रतिक हो’ उनले भने–‘तसर्थ धर्म स्वतन्त्र हुनुपर्छ ।’ उनले आफ्नो पूर्वजदेखि नै हिन्दु धर्ममा विश्वास राख्दै आएको पनि बताए ।
‘तपाईहरु हिन्दु धर्ममा विश्वास राख्नुहुन्छ । म पनि हिन्दु धर्ममा विश्वास राख्छु । मेरो हजुरबुवाले बिराटनगरमा घर बनाउनुपूर्व त्यहाँ पहिले एउटा मन्दिर स्थापना गर्नुभएको थियो । मेरो आमा दैनिक पुजा गर्नुहुन्थ्यो । म त्यो संस्कार र संस्कृतिबाट आएको हुँ’ उनले भने–‘म अहिलेपनि तपाईहरुलाई भन्छु, धर्म स्वतन्त्र हुनुपर्छ । न निरपेक्ष, न सापेक्ष ।’ उनले हिन्दु राष्ट्र निर्माणका लागि जनता अगाडी आएमा आफु साथमा रहेको पनि प्रस्टाए । ‘तपाईहरुलाई लाग्छ, हिन्दु राष्ट्र हुनुपर्छ भनेर, तपाईहरु लाग्नु हामी तपाईको साथमा छौ । यो परिवर्तन गर्नलाई तपाईहरुले एउटा अभियान सञ्चालन गर्नुपर्छ । त्यो अभियानलाई म साथ दिन तयार छु ’ उनले भने ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, दिपक गिरी, प्रतिनिधिसभा सदस्य पदम गिरी लगायतले पनि धर्म निरपेक्षता हुनु कमजोरी भएको स्वीकारेका थिए । कार्यक्रममा विश्व बिख्यात कथावाचक श्रीइश्वरकृष्णजी महाराजले अव हिन्दु राष्ट्र निर्माणका लागि सडकमा आउने दिन आएको बताए । उनले आफु ज्यान रहदासम्म हिन्दु राष्ट्र निर्माणका लागि लाग्ने उद्घोष पनि गरे ।
काँग्रेस महामन्त्री कोइरालाले के के भने हुर्नुस् (पूर्णपाठसहित)
यस महायज्ञमा आउदै गर्दा खेरी मलाई लाग्या थियो, कारण के हो ? यहाँ आएपछि थाहा पाए । बिश्वकै सबैभन्दा ठुलो शिब र पार्वतीको मुर्ति स्थापना गर्न, दुई सय आठ वटा कोठासहितको धर्मशाला स्थापना गर्न, सिसमहललगायतका स्थल निर्माण गर्नका लागि यो तपाईहरुलाई सफलताको शुभकामना दिन चाहन्छु ।
तपाईहरु हिन्दु धर्ममा विश्वास राख्नुहुन्छ । म पनि हिन्दु धर्ममा विश्वास राख्छु । मेरो हजुरबुवाले बिराटनगरमा घर बनाउनुपूर्व त्यहाँ पहिले एउटा मन्दिर स्थापना गर्नुभएको थियो । मेरो आमा दैनिक पुजा गर्नुहुन्थ्यो । म त्यो संस्कार र संस्कृतिबाट आएको हुँ । म अहिलेपनि तपाईहरुलाई भन्छु, धर्म स्वतन्त्र हुनुपर्छ । न निरपेक्ष, न सापेक्ष ।
तपाईहरुलाई लाग्छ, हिन्दु राष्ट्र हुनुपर्छ भनेर, तपाईहरु लाग्नु हामी तपाईको साथमा छौ । यो परिवर्तन गर्नलाई तपाईहरुले एउटा अभियान सञ्चालन गर्नुपर्छ । त्यो अभियानलाई म साथ दिन तयार छु ।
पर्यटकीय दृष्टिले यो ठाउँ अत्यन्त सुन्दर छ । धार्मिक पर्यटनको विकास हुनु भनेको नेपालको विकास हुनु हो । धर्म पर्यटनको विशेष क्षेत्र बन्न सक्छ ।



