पर्वत/परम्परागत नेपाली जीवनशैलीसँग गहिरो सम्बन्ध रहेका काठबाट निर्मित ठेकी, पाथी, माना, ढुंग्रो तथा मोही पार्ने घुर्रोजस्ता हस्तकला सामग्री पछिल्ला वर्षमा लोप हुने अवस्थामा पुगेका छन् । ग्रामीण दैनिकीका अभिन्न अंग मानिने यस्ता सामग्री आधुनिक प्रविधिसँगै प्लास्टिक, स्टिल र सिल्भरका भाँडाको प्रयोग बढेपछि विस्तारै हराउँदै गएका हुन् ।
एक समय गाउँघरमा दुध दुहुने ढुंग्रो, दही जमाउने ठेकी, अन्न भण्डारण गर्ने पाथी–माना तथा घिउ–मोही बनाउने काठका भाँडाबिनाको दैनिकी कल्पना गर्न कठिन थियो । तर समय परिवर्तनसँगै यस्ता सामग्रीको प्रयोग घट्दै गएको छ । कुश्मा–३ दुर्लुङका खेमबहादुर गुरुङले आफुले सानोमा प्रयोग गरेका बस्तुहरु अहिले प्रयोगमै आउन छाडेको बताए । ‘त्यसबेला प्लास्टिक वा स्टिलका भाँडा दुर्लभ थिए, त्यसैले काठका सामग्री नै मुख्य विकल्प हुन्थे,’ उनले भने । अहिले काठको अभाव, सिप हस्तान्तरण नहुनु र नयाँ पुस्ताको घट्दो चासोका कारण यो पेसा संकटमा परेको उनको भनाइ छ ।
दैनिक जीवनसंग सम्बन्ध रहेका काठका सामानसंगै अन्य परम्परागत रुपमा हाम्रा पुर्खाले प्रयोग गर्दै आएका अन्य बस्तुहरु पनि अहिले लोप हुदै गएका छन् । पछिल्लो समय त्यस्ता बस्तुहरु प्रयोग नगरेपछि भावी सन्ततीलाई ती सामाग्रीको बारेमा ज्ञानको समेत अभाव हुने भएको छ । तर कुश्मा नगरपालिका वडा नम्बर ३ स्थित चनौटेमा भने पुराना बस्तुहरु संरक्षण गर्नेगरी सामुदायिक सुचना केन्द्र सञ्चालनमा ल्याइएको छ ।
‘सामुदायिक सुचना केन्द्र स्थापना गर्नु भनेकै पुराना बस्तुको संरक्षण र भावी सन्ततीलाई जानकारी दिनु हो’ केन्द्रका संयोजक खेमबहादुर गुरुङले भने–‘हाम्रा पुर्खाले प्रयोग गर्दै आएका पुराना बस्तु तथा परम्परा लोप हुने अवस्थामा छन् ।’ पुर्खाले प्रयोग गरेका बस्तुहरु अहिलेको पुस्तालाई देखाउदा अचम्म मान्ने दिन आइसकेको उनले बताए । चनौटेमा पुराना लोप हुन लागेका बस्तुहरुको संरक्षण गर्ने उदेश्यले ०८० सालमा सामुदायिक सूचना केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा अहिले काठको लिस्नो, काठको चप्पल, लालटिन, ठेकी, मदानी, मादल, डोको, नाङ्लो, बाँबियोको कुचो, छालाको नारा, काठको मधुश, भकारी, मौरीघार, डाली, कोर्का, काठ चिर्ने पुराना आरा, झुल्के, वास्सा, काइयो, पानस, ढडिया, पुराना झ्यालढोका, कर्नाल, माटोका भाडाहरु, घैटो, जातोलगायताका बस्तुहरु संरक्षण गरिएको छ । अहिले पनि सामुदायिक सुचना केन्द्रमा त्यस्ता पुराना बस्तुहरु संकलन गर्नेक्रम जारी छ ।
चनौटेमा ०४८ सालमा मिलन प्राथमिक बिद्यालय स्थापना गरिएको थियो । बिद्यार्थी संख्याको अभावले उक्त बिद्यालय २०७१ सालमा काफलचौर माविमा समायोजन गरियो । खाली रहेको मिलन प्राथमिक विद्यालयको भवनमा चनौटे टोल विकास संस्थाको विधानअन्र्तगत कार्यविधि बनाएर सामुदायिक सुचना केन्द्र स्थापना गरिएको हो । दुर्लुङमा अहिले दुई वटा सक्रिय होमस्टे रहेको साथै क्यानोनिङ, दुर्लुङकोटलगायत गाउँमा आउने पाहुनालाई सुचना केन्द्रको अवलोकन गराएर त्यसक्षेत्रका साथै पुराना बस्तुको ज्ञान जगाउने सामुदायिक सुचना केन्द्रको लक्ष्य रहेको छ ।


