spot_img

पकेट क्षेत्रमै सुन्तलाका बोट सुकेपछि कृषक निराश

पर्वत– सुन्तला खेतीका लागि पकेट क्षेत्रको रुपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन् । पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगको संक्रमण भएपछि सुन्तलाका बोट मर्न थालेका हुन् । धान, कोदो, मकै जस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका कृषक अहिले वैकल्पिक खेती गर्न थालेका छन् । उनीहरुले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदो खेती गर्न थालेका हुन् ।

कुनै बेला जिल्लामै सबैभन्दा बढी पाँच सय बोट सुन्तला लगाएर मनग्गे कमाई गर्ने स्थानीय टीकाराम जैसी अहिले सुन्तला खेतीबाट विस्थापित भएका छन् । उनले अहिले मौरीपालन र अदुवा, बेसार खेती गरेकाा छन् । सुन्तला बगानमा अहिले सुकेका बोट र झाडीले भरिएको छ । बगानका सबै बोट सुकेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे । काठमाडौंसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको प्रकोप थाहा भएपछि उनले सुन्तला खेती नै छाडेका हुन् ।

सात रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवा खेती लगाएको बताइन् । बगैंचामा रहेका सुन्तलाका सबै बोट मरेपछि सुन्तलाका दाउरा बनाइएको छ । लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका कृषकहरू विस्थापित हुँदै गएको स्थानीय दाताराम चापागाँईले जानकारी दिए ।

विगत केही वर्ष अघिसम्म वार्षिक पाँच करोडभन्दा बढी सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले दुई करोडसम्म भित्रिने चापागाँईको अनुमान छ । महामारीको रुपमा रोग फैलिएपछि लाखौं लगानी गरेर सुन्तला खेती गरिरहेका कृषक चिन्तित बनेको उनले बताए । मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैंचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताइन् । ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ ले त्यहाँका बगैंचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैंचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताइन् ।

पातहरूमा पँहेलो र हरियो भाग मिसिएको रङ देखिँदै फल सानो, बांगो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमश: कमजोर हुँदै गएर रुख मर्ने यसको समस्या रहेको बताइन् । संक्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानी अनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ । तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पको रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिइन् । यहाँका झण्डै १५० परिवार व्यावसायिक सुन्तला खेती गर्दै आएका थिए । सुन्तला खेतीमा समस्या आएपछि कृषकको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए ।

spot_img

भर्खरै