spot_img

दलित महिलाले सातबर्षदेखि उपचार पाइनन्

पर्वत, फागुन २१–यहाँकी एक दलित महिला सात बर्षदेखि घरमै थला परेकी छन् । उपचार गर्न आवश्यक खर्च नहुँदा मोदी गाउँपालिका वडा नम्बर १ भुकताङ्लेकी रुकमाया विक उपचार गर्न नपाएर घरमै ओछ्यान परेकी हुन । आफ्नो भन्ने घर र जग्गाजमिन नै नभएको परिवारकी रुकमायाको सातबर्षअघि एक्कासी बोली नै बन्द भएको हो ।
‘पहिला निकै टाठी थिइ, म नहुँदा पनि काममा गएर ल्याएर छोराछोरीलाई खुवाउने गर्थी तर सातबर्षअघि एकाएक बोली नै बन्द भयो, हातखुट्टा काम्ने र मुखबाट ¥यालमात्रै निकाल्ने गर्न थाली’ रुकमायाका श्रीमान मैते विकले भने । पहिले आफै काममा गएर कमाएर परिवारलाई खुवाउने रुकमायालाई अहिले खानासमेत खुवाइदिनुपर्छ । ‘उसले आफै खाना समेत खान सक्दिन, अर्काले खुवाइदिनुपर्छ, उसले खाना समाएर मुखमा पु¥याउनै सक्दिन’ मैतेले भने ।
२० बर्षकी छोरी र आठ बर्षका एक छोरा भएका रुकमाया छोरा जन्मेको एकबर्षपछि बिरामी भएकी हुन । बिरामी भएपछि उपचार नै गर्न पाएका छैनन् । मैतेको परिवारले रुकमायाको उपचार गराउन सकेनन् । गाउँलेको एक गोठमा शरण लिएर उनको परिवार बस्दै आएको छ । ‘मेरो न घर छ, न जग्गाजमिन छ, बिहान÷बेलुका खाना खान गाउँको बाख्रा हेर्ने काम गर्छु’ मैतेले भने–‘खर्च नहुँदा श्रीमति सातबर्षदेखि थला पर्दा पनि उपचार गराउन सकेको छैन ।’
राम्रो उपचार पाए श्रीमति पहिलेकै अवस्थामा फर्कने मैलेको आशा छ । ‘पहिला धेरै चलाख थिइ, उसलाई गित गाएर कसैले सक्ने थिएन तर उसको बोली सुन्न समेत नपाएको सात बर्ष पुग्यो’ उनले भने–‘दया जागेर कसैले उपचार गर्ने ब्यवस्था मिलाइदिए हाम्रो उद्दार हुने थियो ।’ उनले गाउँको एक बाख्राफार्ममा काम गरेवापत मासिक पाँच हजार पाउँछन् । तर त्यो रकमले चामल किन्न समेत नपुग्ने गरेको मैतेले बताए ।
कहिलेकाही घरमा चामल नै नहुँदा छोरो भोकै बिद्यालय जाने गरेको उनले गुनासो गरे । नौ कक्षामा पढ्दै गरेकी छोरी घरको अवस्थाले चितवनको एक होटलमा काम गर्न सुरु गरेकी छन् । मैते सानै हुँदा उनका बाबुआमा नै हराए । उनलाई मावली परिवारले हुर्काए । युवाअवस्थामा उनले रुकमायासँग विवाह गरेका हुन । ‘विवाह गरेपछि दुई जनाले मजदुरी गर्दा घरपरिवार टार्न कुनै समस्या थिएन तर जब श्रीमति बिरामी भएर थला परी त्यसपछि असाध्यै बिपद् आइलाग्यो’ मैतेले भने । उनी अहिले ४५ बर्षका भए तर आफ्नी श्रीमति कति बर्षकी भइन उनलाई केही थाहा छैन ।
श्रीमतिको अहिलेसम्म नागरिकता समेत उनले बनाउन पाएका छैनन् । ‘श्रीमति मेरै उमेरकी हो, ठ्याक्कै उमेर थाहा छैन’ उनले भने–‘अहिलेसम्म श्रीमतिको नागरिकता समेत बनेको छैन ।’ उपचार गर्न नपाएर सधै बिस्तारामै भएपनि नागरिकता र अपाङ्गता परिचयपत्र पाएदेखि सरकारबाट नियमित भत्ता पाउने आश उनमा छ । ‘वडा अध्यक्ष र सचिवज्युलाई नागरिकता बनाउनका लागि गुनासो राखेको छु’ उनले भने–‘नागरिकता बनाउन सदरमुकाम कुश्मा जान समेत समस्या छ ।’
वडा अध्यक्ष गौप्रसाद गुरुङले रुकमायाको नागरिकता र अपाङ्गता परिचय पत्र बनाउन आफुले सोचेको बताए । ‘नागरिकता र अपाङ्गता परिचयपत्र बनाइदिए उसले राज्यबाट सुविधा पाउन सजिलो हुनेथियो’ गुरुङले भने–‘त्यही नागरिकता र परिचयपत्र बनाउन पनि उसलाई बोकाएर कुश्मा पु¥याउनुपर्ने अवस्था छ ।’

spot_img

भर्खरै