पर्वत/कतिले खेती गर्नै छाडीदिए । कति बसाई सरेर तराई झरे । आफु जन्मेको ठाउँलाई चटक्कै छाडेर जानु कम्ती पीडादायक थिएन । तर के गर्नु ? आफ्नो जमिनमा लगाएर भित्राउने बेलाको अन्नबाली घर ल्याउन पाउँदैनन् । घरमा राखेको खाद्यान्न पनि कतिबेला गायब हुन्छ पत्तै हुँदैन । घरको पिढी, आगनमा बसेर बालबच्चाले खान पाउदैनन । यस्ता घटना पर्वतका धेरै गाउँमा सामान्य बन्न थालेका छन् ।
पछिल्लो दशक बाँदर आतंक बढेपछि गाउँको किसानको माग नै जसरी हुन्छ बाँदर हटाउनुप¥यो भन्ने रहिआएको छ । चुनावका बेला पनि आफ्नो गाउँको विकास निर्माण र आर्थिक समृद्धिका अन्य माग गर्न छाडेर गाउँका किसान मतदाताले हामीलाई अरु केही चाहिदैन, त्यत्ति बाँदर नियन्त्रण गरिदिनुप¥यो भन्ने गरेका छन् । यसले के देखाउछ भने पर्वतमा बाँदर ठुलै समस्याका रुपमा देखा परेको छ । किसानको चर्को दबाबका कारण पैयूँ गाउँपालिकाले खेतबारी तथा घर वरपर जङ्गल बढ्न थालेको र त्यसले गर्दा बाँदर आउन सहज भएको निष्कर्ष निकाल्दै वरपरका रुख काट्ने निर्णयमा पुगेको छ ।
पैयूँ गाउँपालिकाले सात वटै वडामा कर्मचारी परिचालन गरेर खेतीयोग्य जमिन र घर वरपरका ठुला रुखहरु काट्न थालेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले जानकारी दिए । उनकाअनुसार बाँदरसँगै जंगली जनावरबाट बस्तीको सुरक्षा गर्नका लागि पनि रुख कटान आवश्यक भएको गाउँपालिकाको निष्कर्ष छ । ‘घरबस्ती र खेतीयोग्यजमिनको ८० मिटरभित्रका रुख काटन थालिएको छ’ उनले भने–‘सात वटै वडामा ती रुख काट्न कर्मचारी परिचालन गरेका छौ ।’ उनले गाउँमा जङ्गली जनावरका कारण बसाईसराई बढ्ने र जन्मदर घट्दै जाँदा गाउँ नै खाली हुने अवस्था आउनसक्ने चिन्ता ब्यक्त गरे ।
पालिकाको निर्णयपछि वडाहरुले धमाधम रुख काट्न थालेको कार्यपालिका सदस्य एवम् वडा नम्बर १ का अध्यक्ष मीनप्रसाद न्यौपानेले जानकारी दिए । ‘गाउँमा बृद्धबृद्धा बढी छन्, घरवरपरका साथै खेतीयोग्य जमिन झाडीले भरिन थालेको छ, त्यसैले पनि रुख काट्नैपर्ने देखियो’ न्यौपानेले भने–‘गाउँ जङ्गलले ढाकिएर बाँदर मात्रै होइन बाघको समेत खतरा बढेको छ ।’ उनले अहिले काटिएका रुखले मात्रै बाँदर समस्या समाधान नहुने भएपनि घरमा आएर बालबच्चाले खान लागेको रोटी, मकै खोसेर लान नसक्ने र बाँदर नजिक आएपनि धपाउन सहज हुने बताए ।
खेतीयोग्य जमिन र घर वरपरका रुख काट्दै पैयुँ गाउँपालिका
