पर्वत, भदौ १३–प्रतिनिधि सभा र प्रदेशसभा सदस्य पदको निर्वाचन नजिकिदै जाँदा पर्वत काँग्रेसभित्र नेता कार्यकर्ता कडा रुपमा प्रस्तुत हुन थालेका छन् । ०४६ सालको परिवर्तनपछिका हरेक संसदीय र संविधानसभा निर्वाचनमा केही सीमित नेताको सिण्डीकेट र तिनै ब्यक्तिले टिकट पाइरहेकोले अव पनि त्यो दोहोरिएमा पर्वतमा काँग्रेस बढारिने चेतावनी दिएका छन् ।
पर्वत काँग्रेसको राजनीति लामो समयदेखि सीमित ब्यक्तिगत घेरामा छ । निर्वाचन आउँदा मिलाएजस्तो देखाउने र त्यसपछि गलत्याउन सुरु गर्ने नेतृत्वको प्रबृत्तिले पर्वत काँग्रेस कमजोर बन्दै जाँदा असन्तुष्ट नेता कार्यकर्ता बोल्न थालेका छन् । उनीहरुले नेतृत्वबाट गलत काम नगर्न र सबैलाई समान दृष्टिले ब्यवहार गर्न आग्रह पनि गरेका छन् । नेपाली काँग्रेसका नेता एकनारायण न्यौपानेले पार्टीभित्र तछाडमछाडका रुपमा नेता भेटघाट र चाकडी तथा चाप्लुसीको भरमा पुरानै अनुहार र मतदाताबाट परिक्षण भइसकेकालाई पुनः टिकट दिएमा पर्वतबाट काँग्रेस बढारिने सम्झन चेतावनी दिएका छन् । २०५४ सालमा एमालेको गढ भनेर चिनिएको तत्कालिन हुवास गाविसमा अध्यक्ष पदमा निर्वाचित भएका न्यौपाने त्यसपछिका निर्वाचनमा अवसर पाएका छैनन् ।
नेपाली काँग्रेस पर्वतका उपसभापति डा.चुडामणी शर्माले सधै एउटै ब्यक्तिले मात्रै अवसर पाउँदा नेता कार्यकर्तामा बितृष्णा आउने भएकोले पर्वतमा नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने बताए । राजनीतिक परिवारमा जन्मिएका डा.शर्माका बाबु डण्डपाणी शर्मा २००७ सालको क्रान्तिको क्रममा यसक्षेत्रको मुक्ति कमाण्डर रहेका थिए । अहिलेसम्म पार्टीलाई योगदान गर्दै आएको र यसपटक पर्वतबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदको एक पदमा आफुले उम्मेदवार हुन पाउनुपर्ने शर्माले दावी गरेका छन् । ‘अव पनि कति छाड्नु र कति कुर्नु’ उनले भने ।
न्यौपाने र डा.शर्माको मात्रै पीडा होइन, पर्वतका धेरै नेता कार्यकर्ताको चाहना पटक–पटक परिक्षण भइसकेकालाई नभई नयाँलाई अवसर दिनुपर्ने माग छ । नेताको त्रासले मन–मनमा पीडा बोकेर पनि बोली फुटाउन नसक्ने नेता कार्यकर्ताहरु अहिले नेतृत्वको गलत काममा बोल्ने र राम्रो कामलाई उत्साहित पार्ने काममा लागेका छन् । निर्वाचनमा राम्रो नेता, जनमुखी, सबै नेता कार्यकर्तालाई समान ब्यवहार गर्ने, आन्तरिक प्रतिष्पर्धा वा फरक मत राखेकै बिषयमा गलत्याउन खोज्ने नेता भन्दा फरक सबैको अस्तित्व स्वीकार गर्नसक्ने नेतालाई उम्मेदवार बनाउन माग गरेका छन् ।
पर्वतमा २०४८ सालयताका छ वटा निर्वाचनमा (प्रतिनिधिसभा, संविधानसभा र प्रदेशसभा) गरी जम्मा आठ जनाले मात्रै प्रत्यक्षमा अवसर पाए । २०४८ सालमा पर्वत क्षेत्र नम्बर १ बाट टिकट पाएका नवराज गुरुङ २१ बर्ष पछि पनि टिकटकै दौडधुपमा छन् । उनले २०७० सालमा पर्वत–२ बाट र २०७४ मा पर्वत प्रदेशसभा क क्षेत्रबाट टिकट पाएका थिए । २०४८ सालमा पर्वत २ बाट बिजयी भएकी उमा रेग्मी सोही क्षेत्रबाट २०५१ सालमा काँग्रेसले नै हाँस चिन्हमा स्वतन्त्र उठाइदिएर पराजित भएपछि जिल्ला छाडेकी थिइन । ०५१ मा पर्वत १ बाट काँग्रेसका नेताले नै घर चिन्हमा स्वतन्त्र उठाएपनि इन्दु शर्मा बिजयी भएका थिए । पर्वतको राजनीतिको खराबी समयमै पहिचान गरेका शर्मा त्यसपछि राजनीतिबाटै सन्यास लिए ।
२०४८ सालमा पर्वत काँग्रेसको सभापति भएर २०५६ सालको प्रतिनिधिसभामा निर्वाचित अर्जुनप्रसाद जोशी २०७९ मंसिर ४ को निर्वाचनमा पनि दाबेदार छन् । ०५६, ०६४, ०७०, ०७४ गरी चार पटक काँग्रेसबाट टिकट पाएका उनी पाँचौ पटक उम्मेदवार बन्ने तयारीमा छन् । ०७४ मा उनी एमालेका पदम गिरीसँग झण्डै १३ हजार मतान्तरमा पराजित भएका थिए ।
पर्वत २ मा ०५६ पछि काँग्रेसका कुनै उम्मेदवारले जित्न सकेका छैनन् । ०५६ मा निर्वाचित डिल्लीराज शर्माको पुर्नस्थापित संसदको निरिक्षणका क्रममा ०६३ मा लमजुङमा निधन भएको थियो । पर्वत २ बाट ०६४ मा पर्वत काँग्रेसका पूर्वउपसभापति गिरिराज गौतम, ०७० मा नवराज गुरुङ निर्वाचन लडेर हारे । ०७४ मा पर्वत ख बाट महाधिवेशन प्रतिनिधि राजेन्द्रप्रसाद तिवारी एमाले र माओबादी मिलेको अवस्थामा पनि जम्मा दुई हजार मतान्तरमा पराजित भएका थिए ।