spot_img

अधिकाँश कच्ची सडक अबरुद्ध, जनजीवन कष्टकर

पर्वत, साउन १५–बर्षाले यहाँका अधिकांश कच्ची सडक अबरुद्ध भएका छन् । पर्वतको पोखरा–बागलुङ राजमार्गको पर्वत खण्ड, मालढुंगा–बेनी, कुश्मा–दुर्लुङ, कुश्मा–बनौ, मिलनचोक–मल्लाज, दोविल्ला–फलेबासलगायत केही सडक चलेपनि अधिकांश कच्ची सडक ठप्प भएका छन् । ग्रामिण कच्ची सडकका कारण सदरमुकाम कुश्मा आवतजावतका लागि सहज भएका स्थानीय बर्षापछि ती सडक अबरुद्ध भएपछि बिलखबन्दमा परेका छन् ।
सडकमा सवारी नचल्दा ग्रामिण भेगमा उत्पादन भएका दुध तथा तरकारीजस्ता कृषिजन्य बस्तु बजारसम्म पु¥याउन हम्मेहम्मे परेको छ । फलेबासदेखि महाशिला, पैंयूँ र बिहादीसम्मको सडक नछिमोलिदा पैंयूँ र बिहादी गाउँपालिकाका सर्वसाधारण सदरमुकाम आवतजावतका लागि स्याङ्जा र पोखरा परिक्रमा गर्नुपर्ने बाध्यता छ । दुई जिल्ला घुमेर सदरमुकाम कुश्मा पुग्दा झण्डै ९८ किलोमिटर दुरी बढी यात्रा गर्नुपर्ने बाध्यता भएको पैंयूँ–४ हुवासका ओमप्रसाद बस्यालले जानकारी दिए ।
‘सदरमुकाम आउन दुई जिल्ला काटेर ९८ किलोमिटर बढी यात्रा गर्नुपर्ने बाध्यता सबैभन्दा ठुलो दुर्भाग्यको बिषय हो’ उनले नागरिकसँग भने । हुवासको हातेमालोचोकबाट कुश्मासम्मको दुरी जम्मा ४६ किलोमिटर रहेको छ । तर, हुवासबाट सिधा यातायात बर्षाका कारण सडक बिग्रेर अबरुद्ध हुँदा अहिले एक सय ४४ किलोमिटर दुरी यात्रा गरेपछि मात्रै कुश्मा पुग्नुपर्ने बाध्यता छ ।
साविकको जिल्ला विकास समितिले दशकदेखि नै मुख्य–मुख्य सडकमा बाह्रै महिना यातायात सञ्चालन गर्ने दाबी गर्दै आएपनि बर्षामा अहिलेपनि सर्बसाधारणले कष्टकर जिवन बिताउनुपर्ने अवस्था छ । बिहादीका स्थानीयलाई सवारीसाधनमार्फ कुश्मा आउदा थप सात किलोमिटर बढी यात्रा गर्नुपर्ने हुन्छ । फलेबासबाट कुश्मा आउदा समेत बिहादीको बर्राचौर, रानीपानी, वहाकी, शालिग्रामका बासिन्दालाई चार घण्टा पैदल हिँड्न्पर्ने समस्या छ ।
‘हामीले साविकको जिल्ला विकास समितिलगायत विकासे अड्डालाई धेरै पटक मुख्य–मुख्य सडकलाई बर्षाको समयमा पनि सवारी साधन सञ्चालन हुने वातावरण मिलाउनुपर्छ भनेर आग्रह ग¥यौ तर सुनुवाई नै भएन’ बिहादी–२ बर्राचौरका गोबिन्द पराजुलीले भने । उनले आफुहरु कुश्मा बस चढेर आउदा दिनै जाने बताए । ‘बस चढेर पोखरा हुँदै कुश्मा पुग्न दिनै जान्छ, हिँडेर फलेबास पुग्न चार घण्टा पैदल कस्सिनुपर्छ’ उनले भने ।
त्यतिमात्रै होइन, महाशिला गाउँपालिकाको लुंखुसम्म पोखराबाट नियमित बस चलेपनि उक्त गाउँपालिकाको अधिकांश वडामा सवारी पुग्न छाडेको छ । महाशिला गाउँपालिकाको लुंखु, पाखापानी, फलामखानी, बालाकोट, भोक्सिङका बासिन्दा स्याङ्जा हुँदै पोखरा छिरेर कुश्मा आउने गर्छन् । ‘गाउँपालिकाको केन्द्रसम्म समेत यातायातका साधन बन्द हुँदा निकै सास्ती भएको छ’ महाशिला गाउँपालिकाको कार्यालयका लेखापाल टुकनाथ रेग्मीले भने ।
यता भुकताङ्ले, देउराली, क्याङ, शालिजा, लेखफाँट, बासखर्क जाने सडकहरु पनि अबरुद्ध भएका छन् । कुश्मा नगरपालिका–१४ आर्थर, वडा नम्बर १३ खौलालाकुरी जाने सडक समेत बिग्रेर सवारी चलेको छैन । साविकको जिल्ला विकास समितिले साविकका गाविस कार्यालय जोड्ने मुख्य सडकलाई बर्षाको समयमा समेत सञ्चालन गर्ने भन्दै दशकअघि नै तयारी गरेको जनाएको थियो । तर, अहिलेसम्म पनि त्यो पुरा नहुँदा ग्रामिण भेगमा बस्ने बासिन्दाले सास्ती पाउन छाडेका छैनन् । असारको पहिलो सातासम्म धेरै कच्ची सडक चलेपनि अहिले प्रायः ठप्प अवस्थामा छन् ।
बर्षा रोकिएमा असोजको पहिलो साता मात्रै ती सडकहरु मर्मतपछि सञ्चालन हुनेछन् । सवारी साधन नचल्दा बढी मात्रामा ग्रामिण भेगमा कृषि उत्पादक किसानहरु मारमा परेका छन् । फलेबास–७ की शोभा क्षेत्रीले सडक नचल्दा सहकारीले उत्पादन गरेको दुध सदरमुकाम कुश्मा पु¥याउन नपाएको चिन्ता जनाइन् ।
दुई सय गाईभैसीबाट उत्पादित पाँच सय लिटर दुध कुश्मा पु¥याउन नपाएको उनले गुनासो गरिन् । ‘दैनिक पाँच सय लिटर दुध जिपमार्फत पु¥याउदै आएका थियौ तर अहिले जीप गुडाउनेजस्तो सडकै छैन’ चिसापानी दुग्ध उत्पादक कृषि सहकारीका सचिव समेत रहेकी क्षेत्रीले भनिन् ।
त्यहाँ सहकारीका ३५ जना किसानले सहकारीमार्फत दुध उत्पादन गरेर कुश्माबजार पु¥याउदै आएका थिए । जिल्ला समन्वय समिति, साविकका गाउँ विकास समिति र सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अधिकांश बजेट सडकमा बर्षेनी लगानी भएपनि बर्षामा यातायातको साधनबाट बञ्चित हुनु दुःखद भएको बस्यालले बताए ।

spot_img

भर्खरै