काठमाडौं २५ बैशाख । स्थानीय तहको निर्वाचनमा एउटा वडा अध्यक्षलाई निर्वाचन प्रचार प्रसारमा कति खर्च लाग्ला ? निर्वाचन आयोगले चाँही वडाध्यक्ष र सदस्यले १ लाखसम्म मात्र खर्च गर्न पाउने सीमा तोकेको छ । तर वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुले भने आयोगले तोकेको खर्च सीमाभित्र बसेर चुनाव लड्न नसकिएको बताएका छन् । निर्वाचन खर्च थेग्नै नसक्ने गरी हुने उनीहरुको अनुभवले देखाएको छ ।
नाम उल्लेख नगर्ने सर्तमा नुवाकोटको एक गाउँपालिकाका वडा अध्यक्षले भने, अहिलेसम्म ४ लाख रुपैयाँ सकिसक्यो, चुनाव सक्दासम्म ७ देखि १० लाखसम्म खर्च हुन पुग्न सक्छ ।’
धादिङ जिल्लाका केही वडा अध्यक्षहरुको पनि त्यस्तै भनाइ छ ।
स्थानीय निर्वाचन प्रचारमा निर्वाचन आयोगले तोकेको खर्चको सीमाभन्दा कम्तिमा ४ गुणा बढी खर्च भइसकेको उनीहरुले बताएका हुन् । तर निर्वाचन आचार संहिता आकर्षित हुने हुँदा उनीहरुले आफ्नो नाम भने उल्लेख गर्न चाहेका छैनन् ।
अब प्रश्न उठ्छ, एउटा वडा अध्यक्षका लागि कसरी ७ देखि १० खर्च हुन्छ ?
हरेक उम्मेदवारको अन्तिम उद्देश्य जसरी पनि चुनाव जित्नु हुन्छ । एउटा वडामा हुने चुनावी खर्चको सामान्य ब्याख्या गर्दै धादिङका एक पार्टीका कार्यकर्ताले भने, ‘सबैभन्दा बढी खर्च कार्यकर्ताको खानपान र कपडामा हुन्छ । उम्मेदवारहरुका अनुसार चुनाव प्रचारमा हिँडेका कार्यकर्तालाई खाना, खाजा र पेय पदार्थमा सबैभन्दा बढी खर्च भइरहेको छ । हरेक खानामा मासुभात र पेय पदार्थले बढी बिल उठाइरहेको उम्मेदवारहरुको गुनासो छ ।
त्यसपछि दलको चुनाव चिन्ह र नारा लेखिएका टिसर्ट छाप्न बढी पैसा खर्च भएको छ । एउटा वडाका लागि हरेक पार्टीले कम्तिमा ५ देखि ६ सयसम्म टिसर्ट छापिरहेका छन् । एउटा टिसर्टलाई १ सय ५० देखि ३ सयसम्म पर्छ । त्यसो हुँदा २ सयका दरले ५ सय टिसर्टको मात्र हिसाब गर्दा पनि एकलाख ५० हजार टिसर्टमै खर्च हुन्छ ।
त्यसपछि अर्को खर्च झण्डा खरिदमा देखिएको छ । गाउँपालिका अन्तर्गतको एउटा वडाका लागि पार्टीको झण्डा र चुनाव चिहृन भएको झण्डा मात्र कम्तिमा ६ देखि ७ सय खर्च हुने गरेको छ । एउटा त्यस्तो झण्डालाई ५० देखि ८० रुपैयाँ पर्ने गरेको छ । ६ सय साना झण्डा खरिद गर्दामात्र ४८ हजार सकिन्छ ।
यस्तै एक मिटरको ठूला झण्डा दुई सयजति खर्च गर्दा थप व्ययभार परेको उम्मेदवारहरुले बताएका छन् ।
गाउँपालिका प्रमुखका उम्मेदवार भन्छन्- चुनाव जित्न साढे ३ लाखले पुग्दैन
निर्वाचन आयोगले गाउँपालिका प्रमुखले निर्वाचन प्रचार-प्रसारमा ३ लाख ५० हजारमात्र खर्च गर्न पाउने सीमा तोकेको छ । तर विभिन्न गाउँपालिका अध्यक्षसँग सम्पर्क गर्दा उनीहरुले अहिले नै करिब १० लाख सकिसकेको बताएका छन् ।
अधिकांश गाउँपालिका प्रमुखको उम्मेदवारले चुनाव सम्पन्न हुँदासम्म १५ लाखसम्म खर्च हुने अनुमान गरेका छन् । काठमाडौं उपत्यका भित्रको नगरपालिकाको एक मेयरका उम्मेदवारले निर्वाचन सम्पन्न हुँदासम्म २५ देखि ३० लाख खर्च हुने अनुमान गरेका छन् । उनले भने, ‘निर्वाचन आयोगले एउटा नगरपालिकाको मेयरको उम्मेदवारले ४ लाखसम्म खर्च गर्न पाउने भनेको छ । तर त्यो रकमले कार्यकर्तालाई खाजा खुवाउन पनि पुग्दैन ।’
महानगरपालिकाको मेयर-उपमेयरको खर्च कति ?
चार महानगरपालिकाको मेयर र उपमेयरले भने चुनावी खर्चको अनुमानित आकारबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । उनीहरुले निर्वाचन आचार संहिता आकर्षित हुने विषय भएकाले ठ्याक्कै केही भन्न नसक्ने बताए । ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवारमध्ये चिरीबाबु महर्जनले भने आयोगले तोकेको सीमाभित्र बस्न गाह्रो भइरहेको प्रतिक्रिया दिएका छन् ।
कसरी देखाउने चुनावी हिसाब ?
उम्मेदवारहरुले निर्वाचन आयोग समक्ष चुनावी खर्च भने आयोगले तोेकेको समयसीमा भित्र रहेर पेश गर्ने बताएका छन् । उनीहरुले भने, ‘हाम्रो वाध्यता आयोगले बुझ्दैन, अब आयोगलाई विवरण पेश गर्दा बढी खर्च भएको छैन भन्नुको कुनै अर्को विकल्प छैन ।’
आयोग भन्छ- बढी खर्च भएको प्रमाण छैन
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने दलहरुले निर्वाचन खर्च सीमाभन्दा बढी खर्च भएको आधार र प्रमाण आयोगले नभेटेको बताए । आयोगले खटाएको सुक्ष्म अनुगमन र अन्य विविध प्रकृतिको अनुगमनमा त्यस्तो नदेखिएको आयोगले जनाएको छ । कुनै उम्मेदवारले निर्वाचन आचारसंहिता विपरित बढी खर्च गरेको पुष्टी भएमा आचार संहितामा उल्लेख भएअनुसार कारबाही गरिने आयोगले जनाएको छ ।