spot_img

क्युवामा फहरायो सिलाइएको अमेरिकी झण्डा

एकराज पाठक

दोस्रो विश्वयुद्धपछि लगत्तै सुरुभएको शीतयुद्धकै क्रममा ४ जनवरी १९६१ मा अमेरिकी जलसेनाका तीन जवानले क्युवामा रहेको अमेरिकी दूतावासको झन्डा झिकेर थन्क्याएका थिए । त्यसको ५४ वर्षपछि यसैहप्ता त्यही पुरानो घटनाको नाटकीय तर यथार्थ रुप देखियो राजधानी हवानामा ।

उही झण्डा, दूतावासको उही भवन अनी उनै सैनिक जवान, ५४ वर्षअघि निकालिएको त्यही झण्डालाई सिलाएर र त्यो झण्डा झिक्ने सैनिक जवानलाई नै लगाएर गतहप्तामात्र फेरि फहराइयो । ५४ वर्षअघि झण्डा झिक्ने सैनिक जवान निवृत्त भइसकेका थिए तर उनैलाई सो झण्डा पुनः राख्नका लागि बोलाइयो र राख्न लगाइयो ।

वास्तवमा भावुक थियो गत अगष्ट १५ को त्यो दिन । विदेशमन्त्री जोन केरी गत अगस्ट १५ का दिन हवाना पुग्नुभयो र क्युवामा रहेको अमेरिकी दूतावासको सिङ्गारिएको भवन परिसरमा त्यही पुरानो अमेरिकी झन्डाको झण्डोत्तोलन गर्नुभयो । त्यहाँ उपस्थित अमेरिकी र क्युवाली नागरिकले त्यस क्षणलाई बडो खुसीको घटनाका रुपमा लिए । यो झण्डोत्तोलनले संयुक्त राज्य अमेरिका र क्युवाबीच एक सुनौलो बिहानीको सुरुवात पनि भएको छ । साथै यी दुई राष्ट्रबीचको ५४ वर्षपछिको यो नविन सम्बधले परिभाषा पनि फेरिदिएको छ ।

सञ्चारमाध्यमहरुले जन्मजात सत्रु भनेर सुरु गर्ने गरेका समाचारका कथाहरुमा पनि अब परिवर्तन आएको छ । दौत्य सम्बन्धको पुनःस्थापना भएको देशका रुपमा उनीहरुले अब आफ्ना समाचारहरुको सुरुवात गर्नेछन् ।

सन् १९४५ पछि पहिलो पटक अमेरिकी विदेशमन्त्रीका हैसियतमा गतहप्तामात्र जोन केरीले क्युवाको औपचारिक भ्रमण गर्नुभएको थियो । संयुक्त राज्य अमेरिकाले गत जुलाई २० का दिन क्युवासँग दौत्य सम्बन्ध कायम गर्ने औपचारिक निधो गरेपछि हवानामा अमेरिकी राजदूतावास स्थापना गरी दौत्य सम्बन्धलाई औपचारिकता दिनेसम्बन्धी विभिन्न प्रक्रिया सुरु गरिएको थियो ।

गत वर्षको डिसेम्बर १७ मा लामो समयपछिको मौनता भङ्ग भएको थियो । राष्ट्रपति बाराक ओबामा र क्युवाली सहकर्मी राहुल क्यास्ट्रोकाबीच त्यसदिन औपचारिक वार्ता भयो र त्यसपछि पनि विभिन्न चरणमा छलफल एवम् कुराकानी र प्रयास जारी नै छन् । अन्ततः जुलाई २० का दिन अमेरिकाले क्युवामा र क्युवाले अमेरिकामा आ–आफ्नो राजदूतावास पुनःस्थापना गर्ने सहमति गरे । सायद त्यो समाचारले विश्वमा नै स्थान पायो ।

क्युवाली लगभग बहुसङ्ख्यक जनता स्पेनी भाषा बोल्छन् । स्पेनी भाषामै भाषण गर्नुभयो विदेशमन्त्रीले पनि त्यसदिन र संयुक्त राज्य अमेरिकाले आफ्नो विश्वव्यापी राजनीतिमा परिमार्जन गरेको बताउनुभयो । तर यस परिमार्जनले क्युवा जस्तो साम्यवादी मुलुकमा प्रजातन्त्रप्राप्तिका लागि दबाब दिन कुनै बाधा नपार्ने र राजनीतिक परिवर्तनलाई सघाउने विश्वास पनि त्यसै अवसरमा अमेरिकी विदेशमन्त्रीले व्यक्त गर्नुभयो । अमेरिका सदैव प्रजातान्त्रिक सिद्धान्त र राजनीतिक सुधारका लागि एक मित्रका रुपमा रहीरहने विश्वास पनि विदेशमन्त्री केरीले दिलाउनुभयो ।
प्रजातन्त्रका हिमायती क्युवाली जनतालाई अमेरिकाले सदैव सम्मान गर्ने र आफूले चाहेको जनप्रतिनिधि छान्नबाट क्युवाली जनसमुदायलाई अब कसैले रोक्न नसक्ने समेत उहाँले बताउनुभएको थियो ।

यता अमेरिकामा भने राष्ट्रपति ओबामाको प्रमुख प्रतिपक्षी दलले लामो समयसम्म शत्रुता कायम रहेको मुलुकसँग यति छिट्टै सम्बन्धका घटबढ हुने भनी विरोध जनाएको छ । रिपब्लिकन पार्टीकातर्फबाट राष्ट्रपति पदका लागि उम्मेदवारसमेत रहेका तथा क्युवाली मुलका अमेरिकी सिनेटर कडा विरोध जनाएका छन् । ओबामा प्रशासनको झण्डोत्तोलन समारोहमा क्युवाली प्रजातान्त्रिक नेताहरुलाई निमन्त्रणा नगरिएकामा पनि उनले जमेर आक्रोश पोखेका छन् ।
अधिकांश क्युवाली जनता प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्षरत छन् तर जब उनीहरु विरोध प्रदर्शन गर्दछन् उनीहरुलाई घेराबन्दी गरिन्छ । पक्राउ गरिन्छ र जथाभावी कठघरामा कुटपिट गरिन्छ ।
तर यता जोन केरीले भने क्युवाली प्रजातन्त्रवादी नेताहरुलाई व्यक्तिगत हैसियतमा भेटी उनीहरुको कुरा ध्यानपूर्वक सुन्नु भएको र क्युवामा तपाईंहरु वासिङगटनका मित्रका रुपमा हुनुहुन्छ भनी ढाडस् दिनुभएको कुरा अमेरिकी अधिकारीले बताएका छन् ।

क्युवासँग दौत्य सम्बन्ध कायम भएपछि बाराक ओबामाले एक अप्ठ्यारो विषयमाथि साहसिक निर्णय लिनुपर्ने छ । अमेरिकाले आफ्नो मन नमिल्ने वा शत्रुता कायम भएको मुलुकउपर लागू गर्ने गरेको व्यापार वाणिज्यसम्बन्धी कानुन “टे«डिङग विथ द इनेमी एक्ट” को दायराबाट क्युवालाई हटाउनुपर्ने छ । संयुक्त राज्य अमेरिका पहिलो विश्व युद्धमा होमिएपछि सन् १९१६ मा निर्माण भई अमेरिकी संसद्मा पारित भएको यस कानुनकै आधारमा क्युवालाई अमेरिकाले विभिन्न आर्थिक प्रतिबन्ध र नाकाबन्दी लगाउँदै आएको थियो ।

समयको परिवर्तन सँगसँगै अमेरिकी प्रशासनले यस कानुनमा समयसापेक्ष परिमार्जनसमेत गर्दै आइरहेको थियो । यस कानुनले अमेरिकासँग शत्रुता कायम गर्ने मुलुकउपर कति डिग्रीको प्रतिबन्ध वा नाकाबन्दी गर्ने भन्ने कुरा अमेरिकी राष्ट्रपतिकै स्वविवेक र तजबिजीमा भर पर्नेछ । तर यस सम्बन्ध पुनस्र्थापनाको प्रस्ताव नै अमेरिकी राष्ट्रपतिका पक्षबाट भएकोले सायद उसमाथि लगाउने गरिएका यी प्रतिबन्धहरुमा पुनर्विचार गर्ने नै छ ।

आगामी सेप्टेम्बर ५ मा ओबामाले यस कानुनको दायराबाट क्युवालाई फुकुवा गर्ने या नगर्ने भन्ने निर्णय दिनुपर्ने छ । क्युवालाई यस कानुनबाट उन्मुक्ति दिएमा राष्ट्रपति बाराक ओबामाको क्युवामाथिको आफ्नो हालिमुहाली स्वात्तै घट्ने छ । आफ्नो दुई कार्यकाल पूरा गरिसक्नुभएका ओबामाको निर्णयले आगामी अमेरिकी राष्ट्रपतिलाई क्युवाली मामिलामा प्रभाव पर्न पनि सक्छ । तसर्थ ओबामाको बुद्धिमत्तापूर्ण निर्णय उहाँलाई आगामी राष्ट्रपतिबाट हुने सम्भावित अवगालबाट जोगाउने र सन्तुलन कायम गर्ने छ । रासस (स्रोत :  विभिन्न समाचार संस्थाका सामग्री)

spot_img

भर्खरै