शशांकको निष्क्रियताले सिंहको भोट घट्यो!

काठमाडौं, फागुन २२ –पौडेल पक्षका नेता भएर पनि महामन्त्री डा. शशांक कोइराला दलको नेता चयन प्रक्रियामा सक्रिय नभएपछि नेता सिंहलाई अपेक्षाभन्दा कम भोट खसेको कांग्रेसभित्र चर्चा छ। निर्वाचित पदाधिकारी र प्रभावशाली नेता भएर पनि सिंहको प्रस्तावक नबन्दैदेखि कोइरालाको निष्क्रियताप्रति शंका गरिएको थियो । कोइराला सिंहको प्रस्तावक पनि बसेनन्, उम्मेदवारी दर्ताको प्रक्रियामा पनि सहभागी भएनन् । तर, सोमबार दलको नेता चयनका लागि भोट हाल्न भने पुगे । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

आफूले प्रभाव पार्न सक्ने केही भोटका लागि पनि कोइरालाले पहल नगरेको चर्चा कांग्रेसभित्र छ । उद्योगी विनोद चौधरी, सत्यनारायण खनाल र कर्मा घलेको भाग देउवातिर जानबाट शशांकले रोक्न नसकेको आरोप पौडेल पक्षका नेताले लगाउन थालेका छन् । पौडेल पक्षका डा. मिनेन्द्र रिजाल र डा. नारायण खड्कालेसमेत देउवालाई भोट हालेको चर्चा कांग्रेसमा छ ।

पौडेल पक्षका नेता दिलेन्द्रप्रसाद बडु केही सांसदले विकल्पको कुरा गरे पनि कुनै अवसर पाउने आशामा सभापतिलाई नै भोट हालेको हुन सक्ने बताउँछन् । ‘सभापतिको विकल्पको कुरा पनि उठेका थिए । तर, सभापति नै उठ्दा विकल्पमा दिनुभन्दा अवसर पाउन सकिन्छ भन्ने केहीमा देखियो’ बडुले नयाँ पत्रिकासित भने, ‘यसले पनि केही भोट फरक परेको हुन सक्छ । तर, कसले कता हाल्यो भन्न सकिन्न ।’

सर्वसम्मत भएको भए महामन्त्री कोइरालाले आफैँ दलको नेतामा अघि बढ्ने तयारी गरेका थिए । तर, देउवाले नछाड्ने भएपछि उनलाई सर्वसम्मत हुन नदिन पौडेल पक्षले सिंहलाई अघि सारेको हो । तर, पनि अपेक्षित मत यो पक्षले ल्याउन सकेन । पछिल्लो समय सिटौला पक्ष देउवासँग असन्तुष्ट भएपछि पौडेल पक्षले सिटौला पक्षका भीमसेनदास प्रधानबाहेक दुई मत र देउवा पक्षकै केही मत तान्न सक्ने अपेक्षा गरेको थियो । तर, उनीहरूले सोचेभन्दा भिन्न परिणाम आयो । एक नेता देउवा खेमामै गए ।

प्रमुख सचेतक, सचेतक र समितिमा सभापति बन्न पाउने आशासमेतले सांसदहरूले भोट क्रस गरेको एक केन्द्रीय नेता बताउँछन् । शशांक उठेका भए देउवाले ३६ र शशांकले २७ मत ल्याउने अनुमान थियो । तर, शशांक अघि नबढ्दा र सक्रिय नहुँदा देउवा झनै हाबी भएका हुन् । पौडेल पक्षकै नेता बडु महामन्त्री कुनै पक्ष र विपक्षमा नलागेको बताउँछन् । ‘महामन्त्रीले पक्ष र विपक्षमा लागेर सक्रिय हुन्न भन्दै आउनुभएको छ’ उनले भने, ‘उहाँले एक ठाउँमा भोट हाल्नुभयो होला, तर पक्ष र विपक्षमा नखुल्नुभएको हो ।’ १३औँ महाधिवेशनबाट सभापतिमा देउवा र महामन्त्रीमा शशांक निर्वाचित भएदेखि नै यी दुई नेताबीच खासै विवाद छैन । पार्टी सञ्चालन प्रक्रियामा सभापतिलाई सहयोग नै गर्नुपर्छ भन्ने मान्यता शशांकले राख्दै आएका छन् ।

कांग्रेसमा सिटौला पक्षबाट निर्वाचित तीन सांसद थिए । जसमा भीमसेनदास प्रधान र उमाकान्त चौधरीले देउवालाई भोट दिएका छन् । युवा नेता गगन थापाले भने सिंहलाई भोट हाले । सिटौला पक्षबाट प्रधान र चौधरीलाईसमेत सिंहलाई भोट हाल्न अन्तिमसम्म मनाउन पहल गरिएको थियो । तर, दुवैले देउवालाई भोट हाले । प्रधान सिंहसँग सधैँ असन्तुष्ट रहँदै आएका नेता हुन् । चौधरीले पनि देउवालाई नै भोट दिए । सभापति र दलको नेता एकै व्यक्ति हुन नहुने भन्दै अडान लिँदै आएका थापाले मात्र सिंहलाई भोट हाले ।

कांग्रेस सभापति शेरबहादुर देउवा दुईतिहाइभन्दा बढी मतले संसदीय दलको नेतामा निर्वाचित भएका छन् । प्रतिस्पर्धी प्रकाशमान सिंहलाई २५ मतले पछि पार्दै देउवा निर्वाचित भएका हुन् । ६३ सांसदले दलको नेता चयनका लागि मत खसाल्दा देउवाले ४४ र सिंहले १९ पाए । देउवाले ७० प्रतिशत मत प्राप्त गरे भने रामचन्द्र पौडेल पक्षका सिंहले ३० प्रतिशत मत प्राप्त गरे।

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

पर्वत कांग्रेसको बिपि स्मृति भवन कोरोना अस्पतालका लागि दिने निर्णय

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000