भूकम्पको जोखिमबाट जोगिन बलियो घर

काठमाडौं, जेठ २९ - गोरखा बारपाकलाई केन्द्रविन्दू बनाएर २०१२ वैशाख १२ मा ७.८ रेक्टरको भूकम्प गयो। यसले ठूलै धनजनको क्षति पुर्‍यायो। भूकम्प प्राकृतिक विपत्ति हो। यस्तो विपत्ति कुनै पनि बेला दोहोरिन सक्छ। विज्ञको अध्ययनले पनि यस्तै देखाएको छ। तर, भूकम्प कतिखेर जान्छ भनेर कसैले पनि ठोकुवा गर्न सक्दैनन्। यद्यपि अब आउन सक्ने भूकम्पले उपत्यकामा ठूलै क्षति गराउने भने देखिएको छ। अहिलेका संरचनामा परिवर्तन तथा त्यसलाई बलियो नबनाउने हो भने ठूलै क्षति पुग्न सक्ने अनुमान एक अध्ययनमा गरिएको छ। यसअघिका केही अध्ययनले पनि काठमाडौं भूकम्पीय दृष्टिले ११ औं जोखिम स्थानमा रहेको जनाएको थियो।

सहरी विकास मन्त्रालयको संयोजनमा काठमाडौं उपत्यका भूकम्प विपत्ति जोखिम मूल्यांकन परियोजना’ ले गरेको अध्ययनमा सुदूर मध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्य नेपाल दक्षिणमा केन्द्रविन्दू भएर भूकम्प जान सक्ने अनुमान गरिएको छ। सुदूर मध्यपश्चिममा ८.६, पश्चिममा ७.८ र मध्य नेपालको दक्षिणमा ७.८ रेक्टर स्केलसम्मको भूकम्प जान सक्ने अनुमान गरिएको हो। अध्ययनको निचोड अनुमानमा आधारित रहेको भूगर्वविद्हरूको भनाइ छ। अध्ययन टोलीमा संघीय मामिला तथा स्थानीय विकास र गृह मन्त्रालयसमेत सहभागिता थियो। टोलीलाई खानी तथा भूगर्भ विभाग र जाइकाले प्राविधिक सहयोग गरेका थिए।

सन् २०१५ मे महिनाबाट थालिएको अध्ययनको केही साताअघि सार्वजनिक गरिएको प्रतिवेदनले उपत्यकामा ठूलो धनजनको क्षति हुन सक्ने औंल्याएको छ। क्षति कम गर्नका लागि भवन तथा पूर्वाधार संरचनालाई बलियो बनाउनु आवश्यक रहेको अध्ययनमा संलग्न सहरी विकास मन्त्रालयका वरिष्ठ इन्जिनियर सुमन सालिकेले जानकारी दिए।

जापानी विज्ञसमेतको सहभागितामा गरिएको सो अध्ययनअनुसार सुदूर मध्यपश्चिम नेपालमा जाने भूकम्पले उपत्यकामा खास असर नगर्ने तर पश्चिम नेपालमा गएको खण्डमा गोरखा भूकम्प जत्तिकै क्षति हुने बताइएको छ। मध्य नेपाल दक्षिणमा भूकम्प गएको खण्डमा भने राजधानी उपत्यकामा ठूलो प्रभाव पार्न सक्ने विज्ञहरूले आकलन गरेका छन्।

पश्चिम नेपालमा आएको भूकम्पले जमिनको प्रवेग (हलचल) १५०–२०० गाल हुने अनुमान छ। गोरखाको भूकम्पले १५०–२०० गाल थियो। मध्य नेपालको दक्षिणमा भूकम्प गएको खण्डमा भने प्रवेग धेरै बढी हुने अनुमान गरिएको छ। २००–८०० गालसम्म प्रवेग हुन सक्ने अनुमान छ। प्रवेग कति गाल हुन्छ भनेर ठयाक्कै अनुमान गर्न नसकिएकाले ३ खण्डमा विभाजन गरेर उपत्यकामा हुने क्षतिको आकलन गरिएको छ। २००–४००, २००–२५० र ३००–८०० गाल प्रवेगमा विभाजित गरी क्षतिको पूर्वानुमान गरिएको हो।

‘नेेपालमा ठूलो भूकम्प आउँदा उपत्यकाको जमिनमा कस्तो प्रभाव पर्छ भनेर अध्ययन गरेका हौं,’ खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्रप्रसाद खनालले भने, ‘उपत्यकाको जमिन अध्ययन गर्दा जमिनको प्रवेग (हलचल) धेरै नै हुने देखिएको छ।’ उनका अनुसार ठूलो भूकम्प आएको खण्डमा हलचल ८ सय गालसम्म हुने अनुमान छ। उपत्यकामा जमिन हल्लिएको खण्डमा भवन, सडक, पुल, खानेपानी, विद्युत, टेलिकमलगायत मानवीय र आर्थिक क्षति धेरै नै हुन सक्नेछ। तीन लाखभन्दा बढी भवन, ५ हजारभन्दा बढी विद्यालय, ५ सयभन्दा बढी अस्पताल, झन्डै ५ सय सरकारी भवन भत्किने अनुमान छ। त्यसैगरी झन्डै ५० हजार मानिसको ज्यान जान सक्ने र लाखौंको संख्यामा घाइते हुने तथा उद्धार गर्नुपर्ने अवस्था हुने अनुमान छ। यो सबैभन्दा बढी खराब अवस्थाको आकलन हो। त्यो अवस्थामा सडक, पुल, सञ्चारमा समेत क्षति पुग्ने अनुमान गरिएको अध्ययनमा संलग्न वरिष्ठ इन्जिनियर सालिकेले बताए।

उनका अनुसार विपत् आउनुअघि नै त्यसबाट जोगिनका लागि पूर्वतयारी थाल्नुपर्ने अध्ययनको निचोड छ। भवन संहिता कडाइका साथ लागू गर्ने र पुराना भवनलाई पनि प्रबलीकरण गर्दै लैजानुपर्ने जनाएको अध्ययन प्रतिवेदनमा सुझाइएको छ। ‘उपत्यकामा नयाँ बन्ने संरचना निकै कम छन्,’ इन्जिनियर सालिकेले भने, ‘अब बन्ने संरचनासँगै बनिसकेका संरचनालाई बलियो बनाउन लाग्नुपर्ने देखिएको छ।’ नयाँ बन्ने सबै संरचनामा इन्जिनियरिङ विधिको पालना गर्नुपर्ने र पालना नभएका संरचनासमेतलाई बलियो बनाउन सरकार नै लाग्नुपर्ने उनले बताए।

बनिसकेका संरचनालाई पनि बलियो बनाएर पूर्वतयारीका साथ काम गर्न सकेको खण्डमा क्षतिमा व्यापक कमी ल्याउन सकिने अध्ययनमा संलग्न अधिकारीहरूले बताएका छन्। इन्जिनियरिङ विधिको पालना गरी बनाइएका घरमा भूकम्पबाट हुने क्षति साढे ५ प्रतिशतदेखि लिएर ६७ प्रतिशतसम्म घटाउन सकिने अनुमान अध्ययनमा गरिएको छ। ‘बनिसकेका संरचना कसरी बलियो बनाउन सकिन्छ भनेर सरकारले नीति ल्याउनु अत्यन्तै आवश्यक छ,’ सालिकेले भने, ‘सरकारको नीतिलाई पूर्ण पालना गरेर नागरिकले पनि पूर्वतयारी थाल्न संरचनालाई बलियो बनाउनु झनै आवश्यक छ।’ उनका अनुसार ठूलो भूकम्प गएमा उपत्यकाका ४५ प्रतिशत घर पूर्ण रूपमा क्षतिग्रस्त हुने देखिन्छ। आंशिक क्षतिको संख्या पनि जोड्दा ७६ प्रतिशत घरमा भूकम्पको असर देखिनेछ। यो अनुमानित विवरण सन् २०१६ लाई आधार मानेर निकालिएको हो। भवन निर्माणको प्रवृत्तिलाई ध्यान नदिए सन् २०३० मा क्षति अझै बढ्ने अनुमान छ।

भूगर्वविद् लोकविजय अधिकारीले पनि भूकम्प आफैंले मान्छे नमार्ने तर मान्छेले बनाएका संरचनाको असर पर्ने हुँदा बलिया भवन बनाउन लाग्नुपर्ने बताए। ‘अध्ययनबाट भूकम्प जाँदा कुन ठाउँमा कति क्षति पुग्न सक्छ भन्ने अनुमान गर्न सक्ने हो,’ अधिकारीले भने, ‘भूकम्प जाने अनुमान गर्न सकिँदैन। भूकम्प प्राकृतिक विपत्ति भएकाले जान्छ नै भनेर कसैले ठोकुवा गर्न सक्दैनन्। तर, त्यसको पूर्वतयारीमा रहनु आवश्यक छ।’ nagarikbat

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपालमा थप ८४१८ कोरोना संक्रमित थपिए, ५३ को मृत्यु

पर्वत कांग्रेसको उदारता, नयाँ भवनमा कार्यालय नसार्दै कोरोना अस्पताल बनाउन अनुमति

बित्तिय संस्थासहित सबै प्रकारका पसल ब्यावसाय बन्द गर्न जलजला गाउँपालिकाको आग्रह

सत्ता टिकाउन गुरुङको हरसम्भव प्रयास

सरकारले भन्यो : थेग्नै नसक्ने स्थितिमा पुग्यौं




About Sarathi news
Description goes here
NEPAL OFFICE

Address 1
Kathmandu, Nepal

977-0000000000